प्राविधिक सशस्त्र प्रहरी अधिकृत तालिम सम्पन्न

रिपोर्ट नेपाल | 2020 Mar 06 | 06:47 am 1649

काठमाडौं, फागुन २३: राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित सिसं २३ प्राविधिक सशस्त्र प्रहरी अधिकृत आधारभूत तालिम सम्पन्न भएको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले बिहीबार उक्त तालिमको समापन गरेका हुन् ।

उक्त अवसरमा उनले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीले असहज् परिस्थितिका बेला समेत कत्तिपनि विचलित नभई कर्तव्य निर्वाह गर्न तल्लिन रहनु पर्ने सुरक्षाकर्मीको पेशागत दायित्व रहेको चर्चा गर्दै कार्यक्षेत्रमा गएपछि आफ्नो जिम्मेवारीलाई पेशागत इमान्दारिताकासाथ पुरा गर्न प्रशिक्षार्थीहरु सक्षम रहने विश्वास व्यक्त गरे ।

उनले प्रशिक्षार्थीहरुले तालिमको दौरानमा सिकेका ज्ञानलाई कार्यक्षेत्रमा सधैं उपयोग गर्नुपर्ने चर्चा गर्दै यसबाट कार्यसफलतामा सघाउ पुग्ने बताए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीले राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि सशस्त्र प्रहरी कर्मचारीहरुले सामुहिक भावनाकासाथ ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित रहनुपर्ने कुरा समेत उल्लेख गरे।

कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो तालिममा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा राहुल श्रेष्ठ प्रथम भएका छन् भने प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक सफलता भसिमा कवाज प्रथम, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक मनिष कार्की चाँदमारी प्रथम तथा प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक अशोककुमार यादव सहिष्णुतातर्फ प्रथम भएका छन् ।

करीब तीन महिना अवधिको सो तालिममा चार जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षक र २१ जना प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षकसहित कूल २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।

सो समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, प्रशिक्षार्थी अधिकृतहरुका अभिभावक वर्ग लगाएत सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

बारा जिल्लाको कलैया उपमहानगरपालिका १० पकडीघाटबाट बिहीबा। एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका २७ सिसुवा महेशपुरका ५० वर्षीया सुधा मिया राम रहेकी छिन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकी उनीको साथबाट प्रोमेथाईन ४ सय वटा, नोफिन ४ सय वटा र डाईजीपाम ४ सय वटा बरामद गरेको छ ।

यसैगरी सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ स्थित अभयनगरबाट बुधबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको सखुवानान्कारकट्टि गाउँपालिका ७ का दिपेशकुमार यादव रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट इनरुवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई एपीएफ टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथमा नाईट्राभेट ३ वटा, डाईजेल्याव ३ वटा, फेनारागन ३ वटा र नोफिन ३ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

धनुषा जिल्लाको बिदेह नगरपालिका ३ ईटहरुवा खैरहानीबाट बिहीबार एपीएफ टोलीले करीव दुई लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र लेडिज चप्पल बरामद गरेको छ ।

भारतबाट दुई वटा मोटरसाईकलमा राखेर अवैध रुपले भन्सार छली ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरी र नम्बर ७ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

टोलीले उक्त सामान ल्याउन प्रयोग भएको दुई वटा मोटरसाईकल समेत बरामद गरेको छ ।

एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.