काठमाडौंमा होली खेल्न प्रतिबन्ध

| 2020 Mar 05 | 12:30 pm 1953

काठमाडौं, फागुन २२: विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेकाले त्यसलाई ध्यान दिँदै काठमाडौंमा होली खेल्न प्रतिबन्ध लगाइएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले होली खेल्न नपाइने निर्णय गरेको हो ।

भिडभाड र जमघट हुने ठाउँमा कोरोना भाइरसको सङ्क्रमण हुने खतरा भएकाले होली खेल्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उज्यालोलाई जानकारी दिए ।

दाहालका अनुसार अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको बताए ।

काठमाडौंमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने भएको छ ।

काठमाडौं बाहेकका अरु जिल्लामा पनि सकेसम्म होली नखेल्न सरकारले आग्रह गरेको छ । भिड र समूहमा होली खेल्दा सङ्क्रमणको जोखिम हुन सक्ने भएकाले सकेसम्म होली नखेल्न सरकारले आग्रह गरेको हो ।

सरकारले भिडभाडमा नजान, भेला, सभा सम्मेलन नगर्न यसअघि नै आग्रह गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.