८ जना चिनियाँ नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 03 | 07:47 am 1875

गोरखा, फागुन २०: केही दिनअघि पोखरामा क्याम्पस भर्ना भएर गोरखामा धर्मप्रचार गर्दै बसेका चार जना जापनिज नागरिकलाई जिल्लाबाट फिर्ता पठाएको जिल्ला प्रशासन कार्यालयले ८ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

नौलो नेपाल हाईड्रोपावर कम्पनी अन्तरगत अपरबुढीगण्डकी जलविद्यूत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ट्याङ गुवागलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, साङ चुन, याङ जियाचुन र लिङ्घु केशेङ रहेका छन्। उनीहरुलाई नियन्त्रणमा लिएर सोमवार साँझ गोरखादेखि अध्यागमन पठाइएको प्रजिअ पौडेलले बताए ।

पर्यटक भिजामा आएकाहरु काम गरिरहेका भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । विदेशी नागरिक एउटा प्रयोजनमा कागजात बनाएर नेपाल भित्रने र अर्कै काम गर्ने गरेपछि निगरानी बढाइरहेका बेला आरुघाट गाउँपालिका ३ सोतीबाट उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

उक्त हाईड्रोपावरमा १५ भन्दाबढि चिनियाँ नागरिक काम गर्दै आएका थिए। जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले गोरखा रहेर काम गर्ने आधिकारिक कागजात बुझाउन भनेको थियो । लामो समयसम्म चिनियाँ नागरिकले कागजात बुझाउन नसकेपछि केही काम छाडेर भागेका थिए भने बाँकी ८ जनालाई सोमबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.