होली पर्वमा रमाईलो गर्दा ध्यान दिन डाक्टरको सुझाव

रिपोर्ट नेपाल | 2020 Mar 02 | 02:03 pm 3277

काठमाडौं, फागुन १९: कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको बेला आउँदो हप्ता मनाइने होली पर्वमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । गत वर्षहरूकाे तुलनामा यस वर्ष अति संवेदनशिल अवस्था रहेका कारण उक्त कुराहरूकाे जानकारी गराएका हुन् ।

पानीमा भिज्दा तथा भिडभाडमा रङ‍्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले सुझाव दिएका छन्।

यस भाइरसको सङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने उनले बताए । होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै हुन्छ ।

त्यस्तै, हाछ्यूँ गर्दा थुक उछिटेर अरु व्यक्तिमा पनि सर्ने खतरा हुने डाक्टर बाँस्तोलाले बताए।

भिडभाड, मानिसको बाक्लो उपस्थिति भएका ठाउँमा नजान पनि डाक्टरको सुझाव छ । यस्तै, अहिले कोरोनाको उच्च जोखिम रहेकाले सकेसम्म समूहमा नहिँड्न र समूहमा नबस्न पनि डाक्टरको आग्रह छ ।

सङ्क्रमण फैलिनुअगावै सतकर्ता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सक्ने भन्दै डाक्टरले होलीमा धेरै पानी नखेल्न पनि सल्लाह दिएका छन् । कोरोनाको भाइरस चिसोमा बढी सक्रिय हुने हुँदा शरीर भिज्ने गरी होली नखेल्न डाक्टरको सुझाव छ ।

रोग प्रतिरोधात्मक क्षमता कम हुनेहरुलाई कोरोना भाइरसको संक्रमणको जोखिम धेरै हुन्छ । यस्तै डाक्टरले रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या देखिए तुरुन्त डाक्टरको निगरानीमा जान पनि आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.