सप्तरी, फागुन १८: शनिबार कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका ५ की ४१ वर्षीया चन्द्रिकादेवी मुखिया रहेकी छिन् । उनको घाँस काट्न आरक्षमा गएको बेला हात्तीले आक्रमण गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको हो ।
जङ्गली हात्तीको आक्रमणमा परेकी मुखियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
घटनाको जानकारीलगत्तै प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका हात्तीले कञ्चनपुर क्षेत्रमा दैनिक आतङ्क मच्चाएको स्थानीयवासीको भनाइ छ ।