विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

| 2020 Mar 01 | 09:22 am 1397

भक्तपुर, फागुन १८: महानगरीय प्रहरी परिसर भक्तपुरले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका दुई नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालीकोटको रुक्सा गाउँपालिका ४ घर भइ हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका ९ निकोसेरा बस्ने ३१ वर्षीय कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका ५ को जुँगार घर भइ हाल मध्यपुरथिमि नगरपालिका २ बस्ने ३७ वर्षीय बुद्धिलाल पुनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार भक्तपुरको दुई ठाउँबाट पक्राउ परेका बोगटी र पुन चन्द समूहका भक्तपुर जिल्ला सेक्रेटरीसमेत रहेको जानकारी दिए ।

पक्राउ परेका बोगटी यसअघि चन्द समूह भक्तपुर जिल्ला सेक्रेटरी रहेकै बेलामा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई साङ्घातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका थिए । चन्द समूहका कार्यकर्ताले शङ्कास्पद गतिविधि गरिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा खोजी गरी उनीहरुलाई पक्राउ गरेको गिरीले जानकारी दिए ।

उनीहरुलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा बोगटी र पुनले प्रहरी कर्मचारीलाई उल्टै गालीगलौज तथा अनावश्यक हैरानी दिएको जानकारी दिएको उनले बताए ।

पक्राउ परेका दुवैलाई मुलुकी फौजदारी अपराध संहिता २०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहारमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्यअघि बढाइएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.