काठमाडौं, फागुन १६: चीनबाट नेपाल आयात गरिने सामान कोलकात्ताभन्दा चीनबाट सोझै ल्याउन छिटो हुने सरकारी अध्ययनले देखाएको छ। चीनबाट सोझै आयात गर्दा कोलकात्ताको तुलनामा १६ दिन छिटो हुने अध्ययनको निष्कर्ष छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका प्रतिनिधि र पारवहन विज्ञ आरबी रौनियारको संलग्तामा गठित समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनअनुसार चीनबाट सोझै सामान आयात गर्दा १२ दिन मात्रै लाग्छ।
चीनबाट नेपालमा गरिने आयातको ठूलो हिस्सा कोलकत्तामार्फत हुने गरेको छ। ग्वान्जाओबाट कोलकात्ता हुँदै सामान आयात गर्दा २८ दिन लाग्छ। हालसम्मको छिटोछरितो आयातका लागि भिसाखापटन उपयोगी मानिएको छ। यताबाट आयात गर्दा जम्मा १७ देखि १९ दिनसम्म मात्रै लाग्ने गरेको छ।
चिनियाँ सामान ल्याउँदा सस्तो
पछिल्लो तथ्यांक हेर्ने हो भने तीन सय वटा कन्टेनर मात्रै ग्वान्जाओ–लान्जाओ हुँदै केरुङ ल्याएको पाइएको छ। चीनबाट लोड भएको कार्गो समेत ग्वान्जाओको साटो तियान्जेन पोर्ट हुँदै नेपाल ल्याउने हो भने ढुवानी लागत र समय समेत बचत हुने समितिका एक सदस्यले जानकारी दिए।
चीनले दक्षिण एसिया अन्तर्राष्ट्रिय ट्रेन प्यासेजका रूपमा सिगात्से–रसुवालाई राखेको छ। सिगात्सेबाट केरुङ हुँदै नेपाली सीमासम्म रेलसेवा विस्तारको काम सन् २०२२ सम्म सम्पन्न गर्ने अनुमान छ। लान्जाओमा ६ वटा रेलवे १८ वटा मुलुकसँग जोडिसकेको छ। चीन ओरिजिन कार्गोको लान्जाओ सुक्खा बन्दरगाह हुँदै नेपाल आउने कन्टेनरको संख्या ३ सय छ। त्यसरी सामान ल्याउँदा सस्तो र ल्याउन छिटो हुने गरेको पाइएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट