नेपाल प्रहरीमा रिक्त तीन एआइजीको नाम सिफारिस

रिपोर्ट नेपाल | 2020 Feb 27 | 06:33 pm 2077

काठमाडौं, फागुन १५: गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त तीन प्रहरी अतिरिक्त महानिरीक्षकको लागि तीन प्रहरी नायब महानिरीक्षकको नाम सिफारिस गरेको छ ।

सिफारिस हुनेमा प्रहरी नायब महानिरीक्षक तारिणी लम्साल, शैलेस थापा क्षेत्री र हरीबहादुर पाल रहेका छन् ।

उल्लेखित तीनै जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको लागि सिफारिस गरिएको हो ।

प्रहरी नायब महानिरीक्षकको बरियतामा पहिलो, दोश्रो र तेस्रो नम्बरमा रहेका उनीहरुलाई सोही बरियता अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक बढुवाको लागि सिफारिस गरिएको छ ।

पहिलो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक बढुवामा सिफारिस भएका लम्सालले ३० बर्षे सेवाहदका कारण आगामी असार २४ मा अनिवार्य अवकाश पाएपछि भावी प्रहरी महानिरीक्षकको लागि थापा र पालबीच प्रतिस्पर्धा हुनेछ ।

उनीहरू दुबैजना २०४९ बैशाख १९ मा प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका अधिकृत हुन् । प्रहरी अतिरिक्त महानिरीक्षक बढुवामा आफ्नो ब्याचबाट पहिलो नम्बरमा बढुवा सिफारिस भएका शैलेस थापालाई नेपाल प्रहरीको भावी (२८औं) प्रहरी महानिरीक्षकरुपमा हेर्न थालिएको छ ।

थापा नेपाल प्रहरीको केन्द्रिय प्रवक्ताको जिम्मेवारीमा छन् भने पाल विशेष ब्यूरोको प्रमुख छन् । एआईजीको दरबन्दी कम भएका कारण थापा र पालसंगै डीआईजीमा बढुवा भएका निरजबहादुर शाही, प्रध्युम्न कार्की र सुर्यप्रसाद उपाध्याय एआईजी बढुवा सिफारिसमा परेनन् । डीआईजी उपाध्याय ३० बर्षे सेवाहदका कारण आगामी असार २४ मा अनिवार्य अवकाशमा जानेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.