लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तयार

रिपोर्ट नेपाल | 2020 Feb 27 | 09:38 am 2217

काठमाडौं, फागुन १५: सरकारले भारतद्वारा अतिक्रमित गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पदमाकुमारी अर्यालले भारतद्वारा मिचिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूमि समेटेर नयाँ नक्सा तयार पारिएको जानकारी दिइन् ।

नेपालको हालको नक्सामा भारतद्वारा मिचिएका ती भूमिलाई समावेश नगरिएकाले नागरिक स्तरबाट सकारको कडा आलोचना हुँदै आएपछि सरकारले ती भूमि समेटेर नयाँ नक्सा तयार पारेको हो ।

नेपालको नक्सामा ती भूमिलाई समावेश गरी मिचिएको भूमि फिर्ता गर्ने अभियानमा सरकार अघि बढेको भूमि व्यवस्थामन्त्री अर्यालले बताइन् ।

हामी हाम्रो भूमि छोड्दैनौँ त्यसैले मिचिएका सबै भूमिलाई समेटेर नयाँ नक्सा तयार पारिसकेका छौँ, मन्त्री अर्यालले भनिन् । मन्त्री अर्यालले नयाँ नक्सा छिट्टै सार्वजनिक गरी नक्सालाई देश व्यापी बनाउने पनि बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमिनै भएकाले त्यसलाई फिर्ता गर्ने विषयमा भारतीय पक्षसँग कुटनीतिक पहल थालिएको बताउँदै आएका छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.