बन्ने भयो ट्राफिकको संयुक्त मेस भवन

रिपोर्ट नेपाल | 2020 Feb 26 | 01:10 pm 1697

काठमाडौं, फागुन १४: महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रहरी भित्र जवान र अधिकृतबीचको भावनात्मक एकतालाई अझ बलियो बनाउनका लागि संयुक्त मेसको अवधारणा ल्याइएको बताएका छन् ।

नायब महानिरीक्षक पोखरेल बुधबार बिहान महानगरीय ट्राफिक महाशाखाको हाता भित्र निर्माण हुने मेस भवनको शिलान्यास गर्दै एउटै रासन खाने जवान र अधिकृतबीच खानपानमा हुने विभेदलाई अन्त्य नगरेसम्म समाजको विभेद अन्त्य गर्न नसकिने बताएका थिए ।

परिवारमा बाबुसँग सँगै खान बस्ने छोराले बाबुलाई गर्ने सम्मानमा कुनै कमी नआउने र बरु त्यसले अझ बढी आत्मीयता बढाउने पनि पोखरेलले बताए ।

प्रहरी संगठनका मेरुदण्डका रुपमा रहेका जवान हवल्दारहरुले दिनभर धुँवा धुलो, घाम पानीसँग जुध्नुपर्ने र योगदान दिनुपर्ने खाना खाने समयमा विभेद व्यहोर्नु पर्दा उनीहरुलाई हुने हिनताबोधलाई अन्त्य गर्न प्रमुख कार्य भएकोले थुप्रै अधिकृतको परामर्शमा संयुक्त मेसको अवधारणा ल्याएको नायब महानिरीक्षक पोखरेलले बताए ।

जवान अधिकृत संयुक्त मेसको विषयमा संगठन भित्र र बाहिर गरीने नकरात्मक टिप्पणी गर्ने तर्फ इंकित गर्दै नायब महानिरीक्षक पोखरेलले समानताका कुरा गर्नेहरुले संयुक्त मेसलाई त्यही रुपमा हेर्न आग्रह गरेका थिए ।

शिलान्यास कार्यक्रममा नायब महानिरीक्षक पोखरेलले चौबीसै घण्टा धुँवा धुलोमा कार्य गर्ने ट्राफिकलाई लुगा धुनका लागि वासिङ मेसिन समेत हस्तान्तरण गरेका छन् ।

महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकामा भई रहेको ट्राफिक व्यवस्थापनलाई अझ बढी चुस्त बनाइने बताएका थिए ।

प्रहरी उपरीक्षक राजकुमार बैदवारले संयुक्त मेस भवनको लागत १२ लाख ७३ हजार ८ सय ८६ लाग्ने र ४५ दिन भित्र निर्माण कार्य पूरा हुने ताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.