पर्सा, फागुन १३: स्रोत नखुलेको अवैध २६ लाख ७१ हजार रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको पिप्रा पोखरिया १ घर भई हाल वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने ४१ वर्षीय संजयकुमार साह, सोही ठाउँ बस्ने ३० वर्षीय जयलाल महतो, भारतको रक्सौल डुमरिया टोलका ३५ वर्षीय विजयकुमार ठाकुर र वीरगञ्ज महानगरपालिका १६ नगवाका ३१ वर्षीय राजुकुमार कलवार रहेका छन् ।
उनीहरुलाई प्रहरीले अवैध वित्तिय (हुण्डी) कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये सञ्जय र जयलाल वीरगञ्जको आदर्शनगरबाट पक्राउ परेका हुन् । बा ४८प ६५९७ नम्बरको मोटरसाइकलमा सवार सञ्जयको साथबाट ९ लाख ७१ हजार र जयलालको साथबाट १० लाख स्रोत नखुलेको रकम बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी वीरगञ्ज महानगरपालिका १६ भन्सार गेट अगाडिबाट विजय र राजु पक्राउ गरेका हुन् ।
बीआर ०५ एए ७२५५ नम्बरको भारतीय मोटरसाइकलमार्फत रक्सौलबाट वीरगञ्ज तर्फ आउने क्रममा विजय र राजुलाई पक्राउ गरिएका हुन् । दुवै जनाको साथबाट प्रहरीले स्रोत नखुलेको ७ लाख रुपैयाँ बरामद गरेको हो ।
पक्राउ परेका चारै जनालाई अवैध (हुण्डी) कारोबारी मुद्दा दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।