विपक्षीहरू कुरै नबुझी कुखुराका चल्लाझैँ पछिपछि कुदेः प्रधानमन्त्री ओली

रिपोर्ट नेपाल | 2020 Feb 24 | 04:45 pm 1586

कास्की, फागुन १२: सोमबार पोखरामा नेपाल कम्युनिस्ट पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरू लागिपरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको बताएका छन् । संसदमा के विषयमा विधेयक लिएर गएको छ भन्दा पनि विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ रहेको थियो।

सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले विपक्षी दललाई कुखुराको चल्लासंग तुलना गर्दै व्यांग्य प्रहार गरेका थिए, कुखुराका चल्लाहरूले फट्यांग्रो टिपेर गुरुरु कुद्छन्। त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्।

प्रधानमन्त्री ओलीले यतिबेला विपक्षीहरु गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छर्न निकै तल्लिन रहेको बताए ।

गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने, नन् इस्युलाई इस्यु बनाउने, किन यस्तो भइरहेको छ ? भनेर उनले प्रश्न पनि गरेका थिए ।

प्रधानमन्त्रीले संसदमा पेस हुने विधेयकहरुबारे पर्याप्त कुरा गर्ने ठाउँ नभएपछि जनतामा भ्रम छर्न विपक्षी दल लागी परेको पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.