भागवत ज्ञवाली निष्ठावान भएको सभापति देउवाको भनाई

| 2020 Feb 22 | 06:41 pm 5373

काठमाडौं, फागुन १०: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निष्ठावान र इमान्दार मान्छेको मृत्यृपछि पनि जीवन्त रहने बताएका छन् । सभापति देउवाले नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति एवम् पूर्व सांसद भागवत ज्ञवालीको पाँचौ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा उक्त कुरा बताएका हुन् ।

सभापति देउवाले भागवत ज्ञवालीलाई २०४८ को सदनमा चिनेको र त्यसबेला ज्ञवालीबाट उठ्ने विषयहरु तर्क संगत हुने गरेको बताए । स्वर्गीय ज्ञवाली राजनीतिज्ञ मात्र नभएर असल र सच्चा समाजसेवी भएको देउवाको भनाई रहेको थियो ।

नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिद्वारा आयोजित श्रद्धाञ्जली सभामा महामन्त्री सशांक कोइरालाले भागवत ज्ञवालीले मुलुकको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको कदर गर्नुपर्ने बताएका थिए ।

बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले भागवत ज्ञवाली सच्चा बीपीवादी भएको बताउँदै पछिल्ला दिनहरुमा कांग्रेसले बीपीको बिचार त्यागेको बताएका थिए ।

नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले भागवत ज्ञवालीको निष्ठा आदर्शलाई पालना गर्नसके मात्र सच्चा श्रद्धाञ्जली हुने बताएका थिए ।

पूर्वसभापति त्रैलोक्यप्रताप सेनले ज्ञवालीको कार्य समितिमा आफू सचिव बनेको प्रसंग कोट्याउँदै प्रतिबन्धीत कालमा भागवत ज्ञवालीले संगठन गर्ने क्रममा रुद्रबहादुर भुजेल, हिरामान सापकोटा, शशी पन्थी लगायतका घरमा बैठक बस्ने गरेको स्मरण गरेका थिए । नेता सेनले आफूले भागवत ज्ञवालीबाट धेरै कुरा सिकेको पनि बताएका थिए ।

सम्पर्क समितिका अध्यक्ष ज्ञानबहादुर कार्कीको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली सभामा पूर्व सभापति चन्द्र केसी, राजेन्द्र पन्त, बीपी चिन्तन प्रतिष्ठानका महासचिव देवेन्द्र पौडेल, पूर्व राज्यमन्त्री सुवर्ण ज्वारचन, नेपाल प्राध्यापक संघका अध्यक्ष बुद्धबहादुर थापा, नेका गुल्मी क्षेत्र नं. १ का सभापति पारिश्वर ढकाल र स्वर्गीय ज्ञवालीका भाई कांग्रेस नेता रबी ज्ञवालीले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सभापति शेरबहादुर देउवा र अध्यक्ष ज्ञानबहादुर कार्कीद्वारा हस्ताक्षरीत समवेदना पत्र फर्सुराम घिमिरेले पढेर सुनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.