काठमाडौं, फागुन ८: नेपाली तीर्थयात्री बोकेको बस भारतमा दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
सुनसरीबाट भारत तीर्थयात्रा गएकाहरू सवार बस बिहीबार बिहानै सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय संचारमाध्यले जनाएको हो।
उक्त दुर्घटनामा परी घाइते भएका १८ जनाको सरकारी मोहन कुमारामंगलम मेडिकल कलेजमा उपचार भइरहेको द हिन्दुले समाचारमा लेखेको छ।
नेपालबाट तीर्थयात्रामा गएको एउटा समूह कन्याकुमारीमा प्रार्थनापछि बैंगलोर गइरहेको अवस्थामा दर्घटना भएको स्थानीय प्रहरीले जानकारी दिएको बताइएको छ ।
उनीहरु सवार वस सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा नरिपलममा रहेको एउटा मन्दिरमा विश्राम गर्ने योजनासहित सडकमा मोडिन खोज्दा अर्को बसमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुई महिलासहित ६ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिएको छ ।
मृत्यु हुनेमा ५६ वर्षीय गोपाल तामाङ, ५५ वर्षीय फहतसारी चौधरी र ६० वर्षीय विण्णु दाहालको मात्र पहिचान भएको छ भने अन्य मृतकको नाम खुल्न बाँकी रहेको बताइएको छ।
तीर्थयात्रीमा जम्मा ३४ जनाको समूहमा सुनसरीबाट भारत तीर्थयात्रामा गएको जनाइएको छ । उनीहरू गत माघ २३ गते ३५ दिनको यात्रामा निस्किएको बताइएको छ ।