महाशिवरात्रि पर्वका लागि ट्राफिक व्यवस्थापन, कुन क्षेत्रमा सवारी आवागमनमा रोक ?

रिपोर्ट नेपाल | 2020 Feb 20 | 09:28 am 2779

काठमाडौं, फागुन ८: महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा विशेष कार्य योजनासहितको ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ ।

शुक्रबार महाशिवरात्री पर्वको पूजा गर्न पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एवं दर्शनार्थीको आवागमनलाई सरल, सहज तथा व्यवस्थित बनाउनका लागि योजनाबद्ध तरिकाले ट्राफिक व्यवस्थापन मिलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, दुई पाँग्रे र साना सवारीसाधनको लागि तिलगङ्गा र वाइसिएल मार्ग, नक्साल कालो पुल हुँदै आउने गाडीलाई सिफलचौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारी साधनलाई देव उद्यानस्थित कोषको कार्यालयमा पार्किङको व्यवस्था मिलाइएको उनले बताए ।

पासबाहक गाडी, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला तथा वाग्मती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

त्यस्तै तिलगङ्गा, गौशाला, मित्रपार्क र चावहिल भई चल्ने मालबाहक सवारी साधनलाई तिनकुने, सिनामङ्गल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँ बानेश्वरलगायतका स्थानबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाई वैकल्पिक सडक प्रयोगको व्यवस्था मिलाइने महाशाखाद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.