काठमाडौं, फागुन ७: सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द निकट (नेकपा) का नेता तथा संगीतकार माइला लामा धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका छन्।
विप्लव नेतृत्वको तत्कालीन उपत्यका इन्चार्ज लामालाई संखुवासभा जिल्ला अदालतले २५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।
उनलाई प्रहरीले हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ गरेर धरौटीमा रिहाको आदेश भए पनि रकम बुझाउन नसकेपछि पुनः जेल गएका हुन् ।
सरकारले विप्लव समूहलाई प्रतिबन्धित घोषणा गरेर विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई विभिन्न मुद्दामा पक्राउ गरिरहेको छ।
लामा एनसेल मुख्यालयमा बम विस्फोटको आरोपमा पक्राउ परेका थिए । उनलाई ललितपुर अदालतले रिहा गर्न आदेश दिएको थियो।
तर, उनलाई अर्को मुद्दामा अदालत परिसरबाटै पक्राउ गरी सुनसरी लगिएको थियो ।
सुनसरीबाटसमेत रिहा भएका लामालाई फेरि अदालतबाटै पक्राउ गरी संखुवासभा लगेर अर्को मुद्दा चलाइएको थियो।