काठमाडौं, फागुन ७: गत फागुन ४ गते चीनको उहानबाट उद्धार गरी ल्याएर क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वस्थ रहेको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।
क्वारेन्टाइनमा राखिएका नेपालीहरुको स्वास्थ्य परीक्षणका क्रममा कसैमा पनि कोरोना भाइरस नभएको स्पष्ट पारेको छ ।
स्वास्थ्य मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको ऊहानबाट ल्याएका १ सय ७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र त्यसक्रमम कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएका छन् ।
मन्त्रालयले कोरोना भाइरस फैलन नदिन सरकारले निगरानी गरिरहेको भन्दै संक्रमण फैलन नदिन आवाश्यक तयारी गरिरहेको जनाएको छ । सरकारले चीनबाट उद्दार गरेर भक्तपुरको खरिपाटीमा राखिएको छ ।
घाँटी र नाकको स्वाब नमूना परीक्षणबाट उनीहरुमा भाइरस संक्रमणको कुनै पनि लक्षण नभेटिएको हो । स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले चीनबाट फर्काइएका सबै नेपाली स्वस्थ भएको जानकारी दिएका छन् । बरालले भने, ‘उहाँहरुको नमूना परीक्षणको रिपोर्टले कुनै पनि व्यक्तिमा कोरोनाको लक्षण भेटिएन ।
गत आइतबार उद्धार गर्ने क्रममा चिनियाँ विमानस्थलमा तापक्रम लगायतको परीक्षणका क्रममा ६ जना नेपाली रोकिएका थिए । पछि उनीहरुको परीक्षण गर्दा कोरोनाको कुनै संक्रमण नदेखिएको पुष्टि भएको छ ।
आइतबार चीनमै छुटेका ती ६ जनालाई नेपाल ल्याउनेबारे राखिएको जिज्ञासामा प्रवक्ता श्रेष्ठले हालसम्म यसबारे अहिले कुनै निर्णय नभएको जानकारी दिएका छन् ।
