काठमाडौं, फागुन ६: जङ्गी अड्डामा यही फागुन ४ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा शुभारम्भ भएको तीनदिने पृतनापति समन्वयात्मक बैठक आज फागुन ६ गते प्रधानसेनापति पूर्णचन्द्र थापाले समापन गरेका छन् ।

प्रधानसेनापति थापाले समापन मन्तव्य राख्दै संगठनमा प्रणालीको विकास गरी आन्तरिक व्यवस्थापनको पक्षलाई पारदर्शी र प्रभावकारी बनाउनका लागि कमाण्ड प्रतिवद्धता, नेतृत्व संवाद, त्रैमासिक रोलकल, सिपाहीका साथ प्रधानसेनापति, निरीक्षण, अनुगमन र प्रतिवेदन, पृष्ठपोषण प्रणाली, फिल्ड सर्वेक्षणहरु, सुझाव तथा शिकायत पेटिका जस्ता संयन्त्रहरु प्रयोगमा ल्याइएका छन् भने नीति नियमहरु परिमार्जन गर्ने र आवश्यक नयाँ नीति नियम तयार गर्ने कार्य निरन्तर भइरहेका बताएका थिए ।
राष्ट्रिय स्वार्थ र हितका विरुद्ध हुनसक्ने कुनै पनि गतिविधी हुन नदिनु र भइहाले पनि परिस्थितिलाई नियन्त्रणमा लिन प्रतिक्रियात्मक क्षमतासहित तयार रही राष्ट्रिय सुरक्षा सबल बनाउनु नेपाली सेनाको संवैधानिक जिम्मेवारी भएकोले सो कार्यको लागि सदैव तयारी हालतमा रहनु पर्ने समेत निर्देशन दिएका थिए ।
मन्तव्यकै क्रममा उनले नेपाली सेनासँगको श्रोत र एकिकृत क्षमताको पक्षलाई हामीले संगठनको दीर्घकालीन हित हुने तवरले सोच्ने, अवधारणाको विकास गर्ने र कार्यान्वयनको लागि आफ्नो व्यक्तिगत स्वार्थ भन्दा बाहिर आउनु पर्ने बताएका थिए ।
साथै उनले “महाशिवरात्री तथा सेना दिवस २०७६”को उपलक्ष्यमा हार्दिक बधाई दिदै आगामी दिनहरुमा समेत उच्च हौसलाका साथ सबै तहका कमाण्डरहरुले मातहतलाई समेत अभिप्रेरित गरी कार्य सम्पादन गर्न निर्देशन दिएका थिए ।