कोरोना संक्रमणका कारण वुहानमा अस्पतालका निर्देशकको मृत्यु

| 2020 Feb 18 | 03:00 pm 2373

एजेन्सीः कोरोना भाइरसको महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मृत्यु भएको छ ।

वुहानबाट फैलिएको कोरोना (कोविड–१९) भाइरस संक्रमणका कारण चीनमा मात्र एक हजार ९ सयको मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

चिनियाँ संचार माध्यमका अनुसार मृत्यु हुने चिकित्सक वुहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेको जनाएको छ । उनलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाई छ ।

उनी कोरोना भाइरस संक्रणका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन् । यस भाइरसका कारण वुहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ भने एक हजार ७ सय १६ जना सङ्क्रमित भएका छन् ।

यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने वुहानकै नेत्ररोग विशेषज्ञ डा ली वेनलियाङको मृत्यु भएको थियो ।

वुहानका चिकित्सकहरूले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.