-
महेन्द्र पाण्डेय
महेन्द्र पाण्डेय २०७५ साल चैत्र २८ गतेदेखि २०७६ फागुन ६ गतेका दिनसम्म आइपुग्दा गुल्मी कांग्रेसले त्यागी र निष्ठावान तीन जना नेतालाई गुमाउन पर्यो । २०७५ सालको चैत्र २७ गते एक श्रद्धाञ्जली सभालाई सम्बोधान गरेर २८ गते जीपमा फर्कर्दै गरेका सादगी नेता रुद्रमणी शर्मा भण्डारी स्वयम् श्रद्धाञ्जली लिनका लागि मृत्युवरण गरे । बागलुङको एक धार्मिक कार्यक्रममा जाँदै गर्दा जीप दुर्घटनामा परेर निधन भएका भण्डारी सादगी र त्यागी नेता थिए ।
आज मृत्युवरण गर्ने भागवत ज्ञवाली र रुद्रमणी भण्डारी २०४८ सालका प्रतिनिधिसभाका सांसद हुन् । दुर्भाग्य भन्नुपर्छ कांग्रेस भित्रको एउटा स्वार्थीहरुको झुण्डले यि दुई निष्ठाका सतिसाललाई पार्टीको सभापतिमा चुनाव लडाएर भागवत ज्ञवालीलाई पराजित बनाइएको थियो ।
जीवित रहँदासम्म टिक्न नदिने र खुट्टा काटिदिनेहरुले यतिखेर गोहीको आँसु खसालिरहेका छन् । रुद्रमणी भण्डारीको अकल्पनीय निधन पश्चात् उनले कतै निष्ठा, इमान्दार र स्वाभिमानको यो धर्तिमा टिकाउ नहुने देखेर त होइन यो एक वर्षमा आफ्ना दुई सहयात्रीलाई पनि आफैंसँग लगे ।
माघ १७ गते त्रिभुवन शिक्षण अस्पतालमा निधन भएका अर्का इमान प्रतिमूर्ति त्यागका उदाहरणीय व्यक्तित्व नेपाल विद्यार्थी संघका संस्थापक सदस्य प्रेमनाथ अर्यालको पनि निधन भयो । अर्याललाई जीवित रहँदासम्म महाधिवेशन प्रतिनिधिसमेत दिन नसक्ने कांग्रेसीहरुले माघ १७ गने फेसबुकको भित्तामा श्रद्धाञ्जली र गुणगान गाए ।
जीवनभर प्रजातन्त्रको लागि लडेको व्यक्तिलाई नेपाली कांग्रेसले कुनै न कुनै तरिकाबाट पटक पटक सरकार बनाउँदा एउटा जीएमसम्म बनाउन सकेन । तर, दुर्भाग्यका साथ भन्नुपर्छ निष्ठाका प्रतिमूर्ति अर्यालले देह त्यागेका दिन गोहीका आँसु बगाउने झण्डा ओढाउने र फूल चढाउनेको प्रतिष्पर्धा देखियो । जीवित रहँदासम्म हरेक घुम्ती र मोड कुरेर खुट्टा काट्नेहरुले मरणोप्रान्त पश्चत् गुणगान गाउँनु भनेको जीवित आमा बाबुलाई बृद्धा आश्रममा राखेर मृत्युपछि जौको डल्लो ठूलो बनाएर चढाए जस्तै हो । प्रेमनाथ अर्यालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा जेल जीवन विताएका थिए । उनले राजनीतिमा खुट्टा तानातान देखेपछि लामो समय प्राध्यापन गरेर विदा भए ।
आज ६ गते अल्का अस्पतालमा देह त्यागेका बीपीवादी नेता आदर्शको प्रतिमूर्ति भागवत ज्ञवालीका कथा व्यथा पनि कमि छैनन् । नेपाली कांग्रेस गुल्मीको संस्थापक सभापति रहेका ज्ञवालीले थापी दिएको जगमा अहिले छत हालेर नाक फुलाउदै हिड्नेहरुले नै उनलाई जिल्लामा टिक्न दिएनन् । पंचायती व्यवस्थाको जरजर समयमा कांग्रेसको जग हालिदिएका ज्ञवालीलाई एक पटक गरिएको अपमान उल्लेख गरी साध्य छैन । अप्ठ्यारो अवस्थामा संगठन बनाइदिएका भागवत ज्ञवाली जस्ता निष्ठावान नेतालाई प्रजातन्त्रको आगमनको समयमा सभापतिसम्म बन्न दिइएन ।
पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित गराइयो । जसले प्रधानाध्यापकको जागिर छाडेर संगठन गर्यो उसलाई यो भन्दा अपमान के हुन्छ ? आजका दिनदेखि १३ दिनसम्म भागवत ज्ञवालीलाई अपमान गर्नेहरु स्तुती गान र रोदनपूर्ण शब्द अवश्य खर्चिने छन् ।
यि तीन पात्रलाई हेर्दा नेपाली राजनीतिमा निष्ठा, आदर्श होइन चाटुककार र खुरापातीहरुको बलोबाल चल्छ भन्ने प्रष्ट हुन्छ । तीन नेता प्रति भावपूर्ण श्रद्धाञ्जली….।