संगठनलाई चुस्त र गतिशील बनाउने प्रहरी महानिरीक्षकको प्रतिबद्धता

| 2018 Jun 28 | 10:44 pm 4461

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको प्राथमिक जिम्मेवारी, वर्तमानको प्राथमिकता र विशेष प्रहरी कार्यक्रम गरी प्रमुख तीन वटा जिम्मेवारी रहेको बताएका छन् । प्रहरी महानिरीक्षक खनालले विहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वर्तमान अवस्थाका यि जिम्मेवारी पूरा गर्न आफू कटिबद्ध रहेको बताएका हुन् ।

प्राथमिक जिम्मेवारीअन्तर्गत शान्ति सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धान, वर्तमानको प्राथमिकताअन्तर्गत प्रहरीको संघीय रुपान्तरण र अपराध संहिता कार्यान्वयन तथा विशेष प्रहरी कार्यक्रमअन्तर्गत गृह प्रशासन सुधार कार्ययोजना, प्रहरी प्राथमिकता, लागूऔषध, मानवबेचबिखन बिरुद्धका कारवाही लगायत भएको उनले उल्लेख गरे ।

सो अवसरमा उनले महत्वपूर्ण प्रहरी अनुसन्धान तथा कारवाही अन्तर्गत नक्कली नोट बरामद, बालयौन दुराचारमा क्यानेडियन नागरिक पक्राउ, इन्टरपोल टुल्सको प्रयोग, अवैध हातहतियार बरामद, वैध हातहतियारको गलत प्रयोग नियन्त्रण, लागूऔषधको बरामदी र लागूऔषध खेती नष्ट गरिएको सम्बन्धमा तथ्याङ्क सहितको प्रस्तुती गरे । साथै नेपाल सरकार तथा गृहमन्त्रालयबाट निर्देशित कार्य सम्पादनका क्रममा गरिएका यातायात सिण्डिकेटविरुद्धको कारवाही, साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या सम्बन्धमा मन्त्रीपरिषदद्बारा गठित छानबिन समिति र जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा भएका प्रहरी कारवाही सम्बन्धमा समेत जानकारी गराए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको दोश्रो सम्मेलन २०१८ मा आफ्नो सहभागिता र उच्च पदस्थ व्यक्तित्वहरुसँग भएको भेटघाट तथा छलफल संगठनका लागि लाभदायक भएको चर्चा गर्दै प्रहरीमा अवरुद्ध प्रशासनिक गतिरोध अन्त्य र नेपाल प्रहरी संगठन सुदृढीकरण सम्बन्धमा भएका कामबारे उल्लेख गरे ।

उक्त अवसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै प्रहरी महानिरीक्षक खनालले नेपालको ऐन कानूनले दिएको अधिकार तथा नेपाल सरकारको निर्णय कार्यान्वयन गर्दै प्रहरी अगाडि बढ्नेतर्फ जोड दिए । आफ्नो दायित्वप्रति नेपाल प्रहरी पूर्ण सजग रहेको उल्लेख गर्दै उनले भने, ‘नेपाल प्रहरी उत्कृष्ठ अनुसन्धान र चुस्त प्रशासनिक कार्यमा सदैव उन्मुख रहनेछ ।’ साथै संगठनलाई चुस्त र गतिशील बनाउने रचनात्मक सुझावहरूको सदैव स्वागत गरिने उनले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.