नव नियुक्त प्रहरी महानिरीक्षकद्वारा पदभार ग्रहण

| 2020 Feb 12 | 02:09 pm 1583

काठमाडौं, माघ २९: नव नियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बुधबार प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन् ।

गृह मन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेबाट दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै उनले कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहसहित, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा जवानले स्वागत गरेका थिए ।

सोही क्रममा उनले प्रहरी प्रधान कार्यालय परिसरस्थित मन्दिरमा पूजाअर्चना गर्नाका साथै अमर प्रहरी स्मारकमा पुष्पहार र अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

महानिरीक्षक ज्ञवालीको कार्यकाल अब पाँच महिनाको रहनेछन् ।

आइजीपी ज्ञवालीले जिम्मेवारी पारदर्शी तवरबाट सम्पादन गर्न प्रहरी कर्मचारीहरु आफ्नो जिम्मेवारीप्रति पूर्णरुपमा जवाफदेही रहने र कुनै प्रकारको अकर्मण्यता, गैरव्यावसायिक आचरणलाई पूर्णतः निर्मूल गर्ने तथा गृह मन्त्रालयले तयार गरेको मार्गदर्शनमा रही गृह प्रसाशन मातहतको उत्कृष्ट नमुना संगठनको रुपमा नेपाल प्रहरीलाई स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले जस्तोसुकै चुनौतीमा पनि उच्च व्यावसायिक धर्म र उच्च मनोबलका साथ कर्तव्य पथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सम्पूर्ण सदस्यहरु प्रतिवद्ध रहेको समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.