काभ्रे, माघ २७: अन्य सेवा सुविधाहरु प्रदान गर्दै आएका धुलिखेल सामुदायिक अस्पतालले पनि अव शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति पाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उक्त अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको छ।
यो भन्दा अघि काभ्रेमा शिर मेमोरियल अस्पतालले मात्र शवपरीक्षण सेवा प्रदान गर्दै आएका थिए।
आइतबार अस्पतालले सेवा सञ्चालन गर्न आवश्यक तयारीमा जिल्लास्थित प्रशासन, प्रहरी र अदालतका प्रमुखहरुसँग परामर्श गरेको छ।
अस्पतालका डा राजकुमार कार्कीका अनुसार अस्पतालले सो सेवा सञ्चालन गर्न २०७१ सालबाट छलफल चलाएको थियो। यसका लागि आवश्यक संरचना निर्माण तथा जनशक्ति व्यवस्थाभएपछि मन्त्रालयले अनुमति दिएको जनाइएको छ।
कार्कीले पछिल्लो चरणमा बनेको मेडिको लिगल सेवा सञ्चालन निर्देशिका २०७५ अनुसार सेवा सञ्चालन गर्न लागेको बताए ।
सो सेवा प्रदान गर्न अस्पतालमा तीन विशेषज्ञहरु रहेको र चौबिसै घण्टा सेवा सञ्चालनमा रहने जनाइएको छ।
अस्पतालका प्रशासक प्रद्युम्न श्रेष्ठले अस्पतालले वाग्मती प्रदेशका साथमा प्रदेश नं १ को सोलुखुम्ब, खोटाङ र ओखलढुङ्गा सेवा क्षेत्रभित्र रहनेगरी मान्यता पाएको जानकारी दिए।
काठमाडौं विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले धुलिखेल अस्पतालजस्तो अस्पताल देशका विभिन्न ठाउँमा सञ्चालन हुन आवश्यक रहेको बताए।