बालबालिका आक्रमण गर्ने नरभक्षि चितुवा खोरमा

रिपोर्ट नेपाल | 2020 Feb 08 | 10:34 am 2393

तनहुँ, माघ २५: यस जिल्लाका विभिन्न स्थानमा धेरै जना बालबालिकालाई आक्रमण गरी मृत्यु तथा घाइते बनाएका नरभक्षि चितुवा मध्ये एक बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा परेको छ । गत माघ १३ गते चितुवाको आक्रमणबाट सो गाउँका दश वर्षीय इशक सुनारको मृत्यु भएपछि डिभिजन वन कार्यालयले बाख्रासहितको खोर थापेको थियो ।

सात÷आठ वर्षको करिव ३५ केजी तौल भएको पोथी प्रजातिको चितुवा आज शनिबार बिहान खोरमा परेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए।

हालसम्म भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक गरी ६ वटा चितुवालाई खोरमा पारी नियन्त्रणमा ल्याइएको छ । उनका अनुसार नियन्त्रणमा आएको चितुवालाई अन्यत्रै स्थानान्तरण गरिनेछ ।

गत बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाइसकेका छन् । पछिल्लो समय वन्यजन्तुबाट मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढेको छ ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण बढेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.