बाजुरामा भाइरल ज्वरो: दुईको मृत्यु, तीन सय भन्दा बढी बिरामी

| 2020 Feb 06 | 12:55 pm 5878

बाजुरा, माघ २३: बाजुराका दुईवटा गाउँपालिकामा भाइरल ज्वरोका कारण जनवीवन प्रभावित भएका छन् । ज्वरोकै कारण दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्वामीकात्रिक खापर गाउँपालिकाको जेरुमा गाउँकाका ५५ वर्षीया मिमा कडारा र ९० वर्षीय दबहादुर रावल रहेका छन् । उनीहरुको ज्वरोकै कारण मृत्यु भएको हो ।

विरामीको संख्या बढ्दै जाँदा पनि सरकारले चासो नदिएको स्थानीयको गुनासो रहेको छ ।

गत साताबाट फैलिएको भाइरल ज्वरोका कारण बाजुराको विभिन्न स्थानमा ३ सयभन्दा बढी बिरामी परेका छन् ।

हिमाली गाउँपालिकाको वडा नम्बर ६ को बाल्डिकको अवस्था पनि उस्तै छ । यहाँ बिरामीको संख्या २ सय ५० पुगेको छ ।

ज्वरोको प्रकोपले विरामीको संख्या बढ्दै गएको छ । तर, स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि र जनशक्ति रहेका छैनन् ।

गाउँका सबै बालबालिका रुघाखोकी र भाइरल ज्वरोका कारण बिरामी भएपछि पठनपाठनसमेत प्रभावित भएको छ । एउटा घर वा एक जना मात्र होइनन्, गाउँ नै प्रभावित भएको एक साता हुँदा पनि संघ र प्रदेश सरकारहरुले चासो नदिएको भन्दै स्थानीयको आक्रोश छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराले औषधि व्यवस्थापनमा लागिपरेको दाबी गरेको छ । चिकित्सकको अभाव हटाउन जिल्ला अस्पतालसँग सहयोग मागेको प्रशासन कार्यालयले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.