बुटवल, माघ २३: अस्पताल प्रशासनको पटाक पटकको आग्रहलाई वेवास्ता गर्दै आएका लुम्बीनी प्रादेशिक अस्पतालका सटरमा व्यवसाय गर्दै आएका व्यवसायीको सटरमा आज बिहान डोजर लगाएर भत्काइएको छ ।
व्यवसायीको विरोधको बाबजुद अस्पतालका सटर बिहीबार बिहान डोजर लगाएर हटाउन सुरु गरिएको छ । अस्पतालका नाममा केही व्यवसायीहरुले सम्झौताअनुसार नै व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने भन्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा जाहेर गरेका थिए । व्यवसायीको मुद्दाको अदालतले अन्तरकालीन खारेज गरिदिए पनि उनीहरुले अटेर गर्दै आएका थिए ।
एकाबिहानै बिना सूचना डोजर लगाएर सटर भत्काउन थालेपछि व्यवसायीहरुले सामान सुरक्षित गर्न नपाएको दुखेसो पोखेका छन्।
अस्पताल सटर संघर्ष समितिका उपाध्यक्ष तुल्सीराम शर्माले अदालतको आदेशबारे प्रशासनलाई जानकारी गराउँदा पनि सरकारले जबर्जस्ती गरेको प्रतिक्रिया जनाएका छन्।
जिल्ला अदालत रुपन्देहीले माघ १९ गतेका दिन यस्तो आदेश गरेपछि अस्पतालले व्यवसायीलाई ४८ घण्टाभित्र सटर खाली गर्न निर्देशन दिएको थियो ।
अस्पतालले व्यवसायीलाई पटक पटक मौखिक आग्रह गर्दा अटेर गरेपछि पत्र दिएर खाली गराउन आदेश दिएको थियो ।
गत कात्तिक १८ मा प्रदेश ५ को मन्त्रिपरिषद्को बैठकले अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउन सटर बाधक निष्कर्ष निकाल्दै भत्काउन सामाजिक विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो ।