पानीजहाजमा सवार दश जनामा कोरोना भाइरस संक्रमण

| 2020 Feb 05 | 01:34 pm 1808

एजेन्सीः जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका कम्तीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

डायमण्ड प्रिन्सेस नाम गरेको जहाजमा रहेका तीन हजार सात सय यात्रुमध्ये तीन सय यात्रुको परीक्षण गरिसकिएको छ । परीक्षण गर्दै जाँदा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

गएको महिना जहाजमा यात्रा गरिरहेका हङकङका एक जना ८० वर्षीय वृद्ध भाइरसका बिरामी परेपछि जाँच सुरु भएको थियो ।

जापानको राष्ट्रिय प्रसारण सङ्गठन एनएचकेले सङ्क्रमण देखिएको १० जना नै ५० वर्षभन्दा माथिका रहेको बताएको छ ।

चार जना ५० वर्ष, चार जना ६० वर्ष, एक जना ७० वर्ष र अर्का एक जना ८० वर्षका रहेका बताइएको छ ।

सङ्क्रमण देखिएका मध्ये दुई जना जापानी नागरिक रहेको बताइएको छ । तर सङ्क्रमण देखिएका मध्ये कोही पनि गम्भीर अवस्थामा नरहेको एनएचकेले जनाएको छ ।

जापानी स्वास्थ्य मन्त्री कसुनोबु कातोले बुधबार सञ्चारमाध्यमसँग भने, सङ्क्रमण देखिएकाहरुलाई स्वास्थ्य संस्थामा पठाइएको छ ।

कोरोनाको कारण चीनमा ४ सय ९० जनाको ज्यान गएको छ भने चीनबाहिर २ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २० हजार नाघिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.