एकसाथ छ वटा हिमाल सफा गरिँदै

रिपोर्ट नेपाल | 2020 Feb 04 | 07:14 am 2047

काठमाडौं, माघ २१: नेपालका छ वटा अग्ला हिमाल एकैपटक सफा गरिने भएको छ । अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकैपटक सफा गरिन लागिएको हो ।

नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को अवसर पारेर हिमाल सफाइ गर्न लागेको हो । करिब आठ करोड ५९ लाख ९३ हजार रुपियाँको लागतमा हिमालको सफाइ गरिनेछ । वन तथा वातावरण मन्त्रालयको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले नेपालका हिमाल स्वच्छ र सफा छन् भन्ने सन्देश दिन छ वटा मुख्य हिमाल एकैपटक सफा गरिन लागेको बताए ।

यसअघि नेपालका हिमालमा फोहोर र प्रदूषण बढेको टिप्पणी विदेशमा भइरहेको थियो । बढी पर्यटक चढ्ने हिमालमा फोहोर व्यवस्थापनको अभाव रहँदा हिमालले फोहोरको भार खेप्दै आउनु परेको छ, जसका कारण हिमाली पर्यावरणमा गम्भीर असर परेको विज्ञहरू बताउँछन् ।

हिमाल र हिउँको संरक्षणसँगै वातावरण संरक्षण गर्न हिमाल सरसफाइ गर्न लागिएको वातावरण विभागले जनाएको छ । पहिले सरसफाइको जिम्मा वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको वातावरण विभागलाई दिइएको थियो तर हालै मात्र परिवर्तन गरी हिमाल सरसफाइको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

प्रवक्ता जोशीले जनशक्ति लगायतका पूर्वाधारको अभावका कारण हिमाल सरसफाइको जिम्मा नेपाली सेनालाई दिइएको जानकारी दिए। वातावरण विभागले भने सहयोगी निकायको भूमिका निर्वाह गर्नेछ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, “तीन चरणमा सरसफाइको काम पूर्ण गर्ने योजना बनाएका छौँ । हिमाल सफा हुनु भनेको देशकै सरसफाइ हुनुजस्तै हो । हामी सबैसँगको सहकार्यमा अग्रसर छौँ ।” गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.