गुल्मीमा मकैको बीउको मुल्य निर्धारण

रिपोर्ट नेपाल | 2020 Feb 02 | 09:31 pm 2425

  • रमेश विश्वकर्मा

गुल्मी, माघ १९: गुल्मीमा मकैको बीउको मूल्य निर्धारण गरिएको छ । जिल्लाको सदरमुकाम तमघासमा भएको मकै तथा मकैको बीउ सम्बन्धि बजार प्रवद्र्धन तथा अन्तरक्रिया गोष्ठीले मकैको बीउको मूल्य निर्धारण गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, मकै जोन गु्ल्मीको आ.ब. २०७६/०७७ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत गोष्ठीमा सहभागी जिल्लाका सरोकारवाला निकायहरुद्वारा मकैको बीउको बिक्री मुल्य निर्धारण गरेका हुन ।

अरुण जातको मकै रु. ६५ प्रति कि.ग्रा., मन– ३ जातको मकै रु.५२ प्रति कि.ग्रा., मन–६ जातको मकै रु. ५६ प्रति कि.ग्रा., देउती जातको मकै रु. ५२ प्रति कि.ग्रा. र रामपुर कम्पोजिट जातको मकै रु. ५६ प्रति कि.ग्रा. मुल्य कायम गरिएको हो । बीउको बजारीकरण गर्नको लागि यसरी मकैको बीउको मूल्य निर्धारण गरिएको परियोजना कार्यान्वयन इकाई प्रमुख नारायण काफ्लेले जानकारी दिए ।

उनले उत्पादन लागत घटेको कारणले गतवर्षकै मूल्य कायम गरिएको बताए । अन्य जिल्लामा कति बिक्री हुने र जिल्लाभित्र कति खपत हुने सम्पूर्ण विवरण आईसकेको हुनाले यहाँबाट कति मूल्यमा पठाउने भन्ने उदेश्यले हामीले सरोेकारवालासँगको अन्तरक्रियामा मकैको बीउको मूल्य निर्धारण गरिएको प्रमुख काफ्लेले बताए । यसरी मूल्य निर्धारण नगर्दा किसानहरु अप्ठ्यारोमा पर्न सक्छन । अन्य कम्पनीहरुले मूल्यमा बार्गेनिङ पनि गर्न सक्ने भएकाले हामीले यसरी मकैको बीउको मूल्यमा एकरुपता ल्याउन खाजेको बताए ।

जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले जिल्लालाई मकै बीउमा आत्मनिर्भर बनाउनका लागि मकै बीउ उत्पादक कृषक समुह, सहकारी तथा नीजि फर्महरुको महत्वपुर्ण भूमिका रहेको बताए । उनले आगामी दिनमा पनि मकै तथा मकै बीउको बजार प्रवद्र्धन लागि स्थानिय निकायले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

त्यस्तै रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले कृषकद्वारा उत्पादित मकैको बीउले बजार नपाउने अवस्था आएमा नगरपालिकाले बजारको ग्यारेन्टि गरिदिने बताए । किसानहरुलाई गुणस्तरीय मकै बीउ उत्पादनमा लाग्न अनुरोध गर्दै नगर प्रमुख भुसालले भने,‘कृषकहरुले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकणमा किसानहरुलाई सहयोग गर्ने उद्धेश्यले नगरपालिकाद्वारा कृषि तथा पशु उपज संकलन केन्द्र सन्चालनमा ल्याएको छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गुल्मीको संक्षिप्त परिचय, कार्य सन्चालन प्रक्रिया तथा हाल सम्म सम्पन्न क्रियाकलाहरु, मकै जोन क्षेत्रको मकै तथा मकै बिउ उत्पादन र उत्पादकत्व, बीउ माग, आपुर्ति तथा बजारिकरणको अवस्था, अवसर एवम चुनौतिहरु, कृषि ज्ञान केन्द्रद्वारा सन्चालित मकै पकेट तथा ब्लक कार्यक्रमको संक्षिप्त परिचय, कार्य सन्चालन प्रक्रिया र मकै तथा मकै बीउको बजारीकरणमा स्थानिय निकाय तथा सरोकारवालाको भुमिका बिषयक चार वटा कार्यपत्र परियोजना कार्यान्वयन इकाई प्रमुख नारायण काफ्ले, कृषि अधिकृत समिर सिँह बराई मगर, कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अधिकृत टिकाराम न्यौपाने र कृषि तथा पशु उपज संकलन केन्द्र रे.न.पा.का दामोदर पोख्रेलले प्रस्तुत गरेका थिए । मकै बीउ उत्पादक कृषक समुह, सहकारी, निजी फर्म, व्यापारी, एग्रो भेट सन्चालक, मकै जोन क्षेत्रका स्थानिय तहका जनप्रतिनिधी तथा कृषि प्राबिधिक, पैचो पसल प्रा.लि तथा बिभिन्न सरोकारवालाहरुको सहभागिहरुको उपस्थिती रहेका थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.