एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

रिपोर्ट नेपाल | 2020 Feb 02 | 08:50 pm 5327

काठमाडौं, माघ १९: विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छली तथा चोरीपैठारीका सामान सशस्त्र प्रहरी बल (एपीएफ) टोलीले बरामद गरेको छ ।

सर्लाही जिल्लाको बलरा नगरपालिका २ स्थित जमुनियाबाट आइतबार एपीएफ टोलीले करीव तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको डिजे साउण्ड सिष्टम बरामद गरेको छ ।

भारतीय नम्बरको पिकअप गाडीमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त साउण्ड सिष्टम सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद साउण्ड सिष्टम तथा उक्त पिकअप गाडी भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको टोलीले अजकै दिन करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा एपीएफ टोलीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट बरामद गरेको हो ।

बरामद सामान वीरगंज भन्सार कार्यालयमा बुझाईएको बताइएको छ ।

यसैगरी सुनसरी जिल्लाको कोशी गाउँपाकिला ८ चारकुने स्थित सीमा ईलाकाबाट आइतबार एपीएफ टोलीले करीव एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको चार थान काठ चिर्ने हाते मेसीन बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मेसीन सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

बरामद मेसीन एपीएफ टोलीले भन्सार कार्यालय सुनसरीमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.