काठमाडौं, माघ १८: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तीन जना पूर्वसचिवविरुद्ध अख्तियारमार्फत भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको छ ।
सिआइबीले तत्कालिन ४ मुख्य अधिकारी संलग्न रहेको भन्दै उनीहरुविरुद्ध थप अनुसन्धान गर्न सिफारिस गरेको हो । गृहमन्त्रालयमा बुझाएको प्रतिवेदनमा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र भूमिसुधार मन्त्रालयका तत्कालीन सचिवद्वय छविराज पन्त र दिनेशहरि अधिकारीलाई मुख्य ठानिएको छ ।
करीब १० महिना लगाएर तयार पारी बुधवार बुझाइएको प्रतिवेदनमा अवकाश प्राप्त निर्वाचन आयुक्त सुधीर शाहलाई समेत कारवाहीको माग गरिएको छ । ललिता निवासका तत्कालीन भोगाधिकारीहरू रुक्मशमशेर राणा तथा उनका दुई भतिजा हाटकशमशेर र हेमाद्रीशमशेर, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी, भूमिसुधार विभाग, मालपोत र नापी कार्यालय, गुठी संस्थान र समरजंग कम्पनीका कर्मचारीमाथि पनि ब्युरोले थप अनुसन्धानको सिफारिस गरेको छ ।
यस्तै, सरकारी जग्गा हडप्ने नियतसहित भूमाफियालाई सट्टाभर्ना र नक्कली मोही कायम गर्न मन्त्रालयबाट आएका राय र टिप्पणी मन्त्रिपरिषद् बैठकमा पठाउन तथा मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न लिखित निर्देशन दिएको भन्दै सिआईबीले तत्कालीन मुख्यसचिव एवं हाल चीनका निम्ति नेपाली राजदूत लीलामणि पौडेललाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ ।

२०७५ फागुन २८ गतेको मन्त्रिपरिषद्ले बालुवाटारको जग्गा हिनामिना प्रकरणको छानबिन र अनुसन्धान गर्न ब्युरोलाई जिम्मा दिएको थियो । सोही बैठकले जग्गा हिनामिनामा संलग्नमाथि भ्रष्टाचार मुद्दामा कारबाही गर्न अख्तियारलाई समेत पत्राचार गरेको थियो । ललिता निवास प्रकरणमा अख्तियारले पनि अनुसन्धान गरिरहेको छ ।