पहिरोले कन्टेनर र जिप बगायो

रिपोर्ट नेपाल | 2018 Jun 28 | 06:35 am 3517

नुवाकोट, असार १४: अविरल वर्षासँगै आएको पहिरोले रसुवामा बुधबार साँझ मालवाहक कन्टेनर र जिप बगाएको छ ।

पासाङ ल्ह्यामु राजमार्गको कालिकास्थान–धुन्चे सडकखण्डअन्तर्गत कालिका गाउँपालिका–१ स्थित राम्चेमा वर्षासँगै आएको पहिरोले मालवाहक कन्टेनर र जिप बगाएको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरतकुमार थापाले जानकारी दिए ।

चीनको केरुङबाट स्याउ लिएर काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७५९० नंको कन्टेनर र नुवाकोटबाट धुन्चे जाँदै गरेको बा १५ च २७३५ नंको जिपलाई पहिरोले बगाएकाले उद्धारको प्रयास भइरहेको उनले बताए।

उनका अनुसार पहिरोले सडक अवरुद्ध भएपछि रोकिएका उक्त दुई गाडी बगाएपनि त्यसमा सवार यात्रु ओर्लिएको समयमा परेकाले सबैजना सुरक्षित रहेका छन्।पहिरोले सडक अबरुद्ध बनाएपछि चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक मार्ग बन्द भएको छ ।

वेत्रावतीबाट सिधै रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड गत चैत ३० देखि सञ्चालनमा आएपनि पहिरो र सुरक्षाको कारण देखाएर यातायात सञ्चालनमा रोक लगाइँदा दुई देश जोड्ने सडक मार्ग ठप्प भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.