देशैभर राष्ट्रियसभा सदस्यको मतदान सुरु

रिपोर्ट नेपाल | 2020 Jan 23 | 11:02 am 1530

काठमाडौं, माघ ९: बिहीबार हुने भनिएको राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सातै प्रदेशमा शुरु भएको छ ।

१० बजेबाट देशैभरका तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ। मतदान बिहीबार अपरान्ह ४ बजेसम्म जारी रहनेछ।

मतदान प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल कायम गरिएको छ।

त्यस्तै गण्डकी प्रदेशका मतदानका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

राष्ट्रियसभाका एक तिहाइ सांसद्को पदावधि यही फागुन २० मा सकिँदैछ। तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि मतदान सुरु भएको हो ।

प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.