नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

रिपोर्ट नेपाल | 2018 Jun 27 | 12:24 pm 3282

चितवन, असार १३: नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाएपछि आज ११ः५० बजेबाट सवारी आवागमन सञ्चालनमा आएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दुई लोडर र एक एक्साभेटरको सहायताबाट पहिरो पन्छाइएको हो ।

बिहान ६:३० बजे सो ठाउँमा पहिरो खसेको थियो । पहिरो खसेको ठाउँको भित्तामा खुकुलो गेग्र्यान रहेकाले रोकथाम गर्न नसकिएको हो । खनालका अनुसार पानी पर्नासाथ पहिरो खस्ने गर्छ । सो सडकको अन्य भागमा पहिरो रोक्न काम भइरहेको भए पनि हाल प्रयोग भएका प्रविधिले त्यहाँ काम गर्न नमिल्ने उनले बताए ।

भित्तामा खोपेर अड्याउन नमिल्ने भएकाले सो ठाउँमा काम गर्न नसकिएको हो । यसअघि पनि पानी पर्नासाथ सो ठाउँमा पहिरो खस्ने गरेको छ । सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो । बेलुका ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुले हैरानी व्यहोरेका थिए ।

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो पनि एउटा हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ ।

सडकको पहिरो हटाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.