काठमाडौं, पुस २५ः महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल तथा अनुगमन समितिका पदाधिकारीहरूद्धारा शुक्रबार सुन्धारामा २३ वटा भाडाका सार्वजनिक सवारीहरूलाई अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा भाडाका सार्वजनिक सवारी तथा चालकमा देखिएका कमिकमजोरीहरूलाई सच्याउनको लागि चालकलाई प्रतिबद्धता पत्र समेत प्रदान गरिएको छ ।
सार्बजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउनका लागि सवारी चालकको महत्वपुर्ण भूमिका रहने भएकोले चालकहरुले पालना गर्नुपर्ने ट्राफिक नियम तथा यात्रुहरु प्रति सेवाभावका साथ आफुलाई बदल्न समेत यस अभियानले महत्वपुर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
सवारी दुर्घटना न्युनिकरण र सहज ट्राफिक व्यबस्थापनका लागि चालकहरु व्यबसायिक, अनुशासित र दक्षताका साथ आफुलाई उदाहरणीय बनाउदै चालकहरुप्रतिको विश्वासमा बृद्धि गर्न समेत चालकहरुलाई अनुरोध गरिएको थियो ।

महाशाखाका प्रमुख ढकालद्वारा यही पुस १७ गते भाडाका सार्वजनिक सवारी साधनहरुमा अनुगमन क्रममा देखिएका समस्या तथा महाशाखामा नागरिकहरुले गरेका गुनासोहरुको समेत विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरु, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा संचालित यात्रुवाहक सार्वजनिक सवारी साधनसँग सम्बन्धित विभिन्न कम्पनी प्रा.लि. का प्रतिनिधिहरुको उपस्थितिमा पुस २० गते यस महाशाखामा व्यापक छलफल गरिएको थियो ।
उक्त छलफलवाट १९ बुँदे प्रतिबद्वता निर्णय भएको र उक्त निर्णयहरु कार्यान्वयन गर्न शुक्रबारबाट अनुगमन शुरु गरिएको हो ।
उक्त १९ बुँदेदे कार्यान्वयन भए नभएको अनुगमनको लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक तथा अनुगमन समितिका संयोजक प्र.उ. राजकुमार बैदवार, नेपाल यातायात व्यवसायी महासंघ सचिव नन्दलाल श्रेष्ठ, नेपाल यातायात व्यवसायी महासंघ जिल्ला संयोजक अरुण श्रेष्ठ, नेपाल यातायात व्यवसायी महासंघका सदस्य अर्जुन गौतम, अखिल नेपाल यातायात मजदुर संघका सचिव कमल पोखरेल, नेपाल यातायात व्यवसायी महासंघका ३ नं प्रदेश संयोजक जगन्नाथ गौतम, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपाल तथा अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।