काठमाडौं, पुस १८: यही पुस १३ गतेदेखि जनसम्पर्क तथा सूचना निर्देशनालय र उपत्यका पृतना हेडक्वाटरको संयुक्त आयोजनामा, जंगी अड्डामा विभिन्न मिडिया हाउसमा कार्यरत रक्षा संवादाताहरुलाई समावेश गरी सञ्चालन भएको रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
उपत्यका पृतना हेडक्वाटरका पृतनापति उपरथी निरञ्जन कुमार श्रेष्ठले एक कार्यक्रम बीच समापन गरेका हुन् ।
नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्चालन भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका विभिन्न मिडिया हाउसमा कार्यरत २४ जना रक्षा संवाददाताहरुको सहभागिता रहेको थियो ।
६ दिने उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्न युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो ।
नेपाली सेनाको सबै पृतनाहरुमा उक्त अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरुप केन्द्रीय तहमा यस कार्यक्रम सञ्चालन गरेको हो ।
यस प्रकारको कार्यक्रमले संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।