काठमाडौं, पुस १६: नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले ६ जनालाई पक्राउ गरी अनुसन्धान थालेसँगै नक्कली स्मार्ट लाइसेन्स वितरण हुने गरेको खुलेको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखा स्रोतका अनुसार सातदोबाटोमा एक सवारीचालकको साथबाट शंकास्पद स्मार्ट लाइसेन्स भेटिएको थियो ।
अनुसन्धानका क्रममा महानगरीय ट्राफिक महाशाखा, रामशाहपथले लाइसेन्स नक्कली भएको प्रमाणित गर्यो ।
यस विषयमा अनुसन्धान गर्न न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका ४ जनासहित ६ जनालाई पक्राउ गरिएको स्रोतले बतायो ।
यस विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।