काठमाडौं, पुस १५ : ‘नेपाल भ्रमण वर्ष २०२०’ को यही जनवरी १ (पुस १६ गते) भव्य रुपमा उद्घाटन हुने भएको छ । उद्घाटन समारोहमा चीन, भारत, जमैका, म्यान्मारलगायत देशका पर्यटनमन्त्रीहरु सहभागी हुनेछन् भने १८ देशका ३५ भन्दा बढी पत्रकारको उपस्थिति रहने जनाइएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथिको रुपमा मन्तव्य दिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले जानकारी दिएका छन् ।
भ्रमण वर्षको तयारीबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सुरज वैद्यले उद्घाटननको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । जनवरी १ अर्थात पुस १६ गते दिउँसो ४ बजे बाट औपचारिक कार्यक्रम शुरु हुने उनले जानकारी दिए । उद्घाटन समारोहमा सामाजिक संघ सस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतले मार्च पास गर्ने उनले बताए ।
संयोजक वैद्यले दशरथ रङ्गशालामा उपस्थित हुने सबैलाई पासको व्यवस्था गरेको भन्दै सर्वसाधरण तथा आगन्तुकलाई ३ देखी ३ः४५ सम्म भित्र गईसक्नुपर्ने बताएका छन् । भीभीआईपी भने ४ बजे उपस्थित हुने उनले जानकारी दिए । त्यसपछि ७ बजेसम्म कार्यक्रम हुने तालिका रहेको छ ।
कार्यक्रममा नेपाली सांस्कृतिक झाँकीसहित राष्ट्रिय कलाकारमार्फत सांगितिक कार्यक्रम समेत छ ।
त्यस्तै, विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत जनवरी ७ मा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिएको छ । यसबाहेक बुधबार काठमाडौंसहित सबै प्रदेशमा समेत भ्रमण वर्ष उदघाटन हुनेछ ।
पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्ष कुनै मन्त्रालयको मात्र कार्यक्रम नभई सम्रग नेपालको कार्यक्रम भएकाले सबैले उत्सबको रुपमा मनाउन आग्रह गरेका छन् । ‘सिंगो देश भ्रमण वर्षको आयोजक हो । सबै क्षेत्र यसका आयोजक हुन्’ उनले भने ‘भ्रमण वर्षले नेपाल स्थिर, शान्ति र समृद्धिको बाटोमा अघि बढेको सन्देश विश्वमा जान्छ ।’