काठमाडौं, पुस १३: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।
लामो समय देखि चर्चाको विषय बन्दौ आएको एमसीसी सम्झौता, सभामुख चयन प्रक्रियाका बारेमा छलफल गर्न सचिवालय बैठक सुरु भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापका अनुसार बैठक बालुवाटारमा सुरु भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सभामुख टुंगो नलागेपछि दुवै अध्यक्ष सचिवालयबाट यसलाई टुंगाउने सोचमा रहेकाले पनि आजको बैठकलाई महत्वपूर्ण मानिएको छ ।
प्रधानमन्त्री ओली पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ र अध्यक्ष पुष्पकमल दाहाल पूर्व माओवादीका तर्फबाट अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने अडानमा रहँदा प्रतिनिधिसभाको बैठक पनि प्रभावित भएको छ ।
यस्तै, स्थायी कमिटीको बैठकमा उठेको र सरकारसँग जोडिएको एमसीसी सम्झौताको विषयमा बैठक मुलतः केन्द्रित हुने बुझिएको छ । अमेरिकी दुतावासले सम्झौता इण्डो–प्यासिफिक रणनीतिकै अंग भएको दाबी गरेसँगै सम्झौतालाई कसरी अघि बढाउने भन्नेमा छलफल हुनेछ ।
यसअघि, स्थायी कमिटीको बैठकले सम्झौता अमेरिकी रणनीति होरहोइन भन्नेबारे अमेरिकी सरकारसँग जवाफ माग्ने निर्णय गरेको थियो ।