भूकम्पबाट क्षति पुगेका ६ वटा क्षेत्रको पुनर्निर्माणमा ८३ प्रतिशत प्रगति

रिपोर्ट नेपाल | 2019 Dec 27 | 09:09 am 1461

काठमाडौं, पुस ११: २०७२ को भूकम्पबाट क्षति पुगेका विभिन्न ६ वटा क्षेत्रको पुनर्निर्माणमा ८३ प्रतिशत प्रगति भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवन र सुरक्षा निकायका भवनको पुनर्निर्माणमा ८३ प्रतिशत प्रगति हासिल भएको जनाए ।

भूकम्पपछिको पुननिर्माणको कामका लागि चार वर्षअघि १२ पुसमा प्राधिकरणको स्थापना भएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शून्यबाट पुनर्निमाण थालेको भए पनि अहिले गौरव गर्न लायक प्रगति हासिल भएको दाबी गरे ।

प्राधिकरणले चार वर्षको अवधिमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति भएको जनाएको छ । यस अवधिमा भूकम्पबाट क्षतिग्रस्त ४ लाख ८२ हजार ३ सय २३ घर पुनर्निर्माण भएको छ ।

१ लाख ८९ हजार घर पुनर्निर्माणको क्रममा रहेका छन् । यस अवधिमा २ खर्ब खर्च भएको प्राधिकरणले जनाएको छ । यस अवधिमा गैरसरकारी संस्थामार्फत ४२ अर्ब गरी कुल ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको छ । प्राधिकरणका अनुसार पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्न अझै ३ खर्ब रुपैयाँ आवश्यक रहेको छ ।

भूकम्पबाट सबैभन्दा बढी निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवन र सुरक्षा निकायका भवनमा क्षति पुगेको थियो ।

प्राधिकरणले कुल क्षतिग्रस्त ७ हजार ५ सय ५३ विद्यालयमध्ये ५ हजार ३ सय ८० अर्थात् ७१ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको जनाएको छ । १ हजार ७ सय ८७ विद्यालयको पुनर्निर्माण भइरहेको छ । त्यस्तै, ३२ जिल्लाका ८ सय ९१ सम्पदामध्ये ३ सय ८७ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय २३ सम्पदा पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ ।

भूकम्पबाट क्षति पुगेका ११ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ६५ को पुनर्निर्माण सकिएको छ भने १ सय ४९ संस्था निर्माणको क्रममा रहेका छन् । पूर्ण र आंशिक रूपमा क्षति भएका कुल ४ सय १५ सरकारी भवनमध्ये ३ सय ५९ सरकारी भवनको पुनर्निर्माण सम्पन्न भएको छ । प्राधिकरणले ४९ वटाको काम जारी रहेको जनाएको छ ।

सुरक्षा निकायका १ सय ८३ संरचनाहरूको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३२ वटा बन्दै छन् । भूकम्पपछि असुरिक्षत स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २ सय ४ लाभग्राहीलाई सुरक्षित बस्तीका लागि जग्गा खरिद तथा व्यवस्थापनको व्यवस्था मिलाइएको छ । ८ हजार ७ सय ४४ भूमिहीन तथा सुकुमबासीलाई जग्गा खरिद र व्यवस्थापन गरिएको छ । ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृति भइसकेको छ ।

त्यसमध्ये २२ को काम सुरु भएको छ भने तीनवटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भएको छ । सो अवधिमा विभिन्न जिल्लाका ७ सय ६२ किमि सडक पुनर्निर्माण गर्नुपर्नेमा ४ सय ४३ किमि सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ३ सय १९ किमि सडकको पुनर्निर्माण भइरहेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.