उपसभामुख तुम्वाहाम्फेको राजीनामा सर्‍यो

रिपोर्ट नेपाल | 2019 Dec 26 | 06:59 pm 1401

काठमाडौं, पुस १० : उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा शुक्रबार मात्र आउने भएको छ । सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले बिहीबार नै राजीनामा दिने जनाइएको थियो ।

संसद् सचिवालयले पुस १४ गते सभामुख निर्वाचनको तालिका बनाएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख लिन उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो ।

पार्टीको निर्णय आउन नसक्दा उपसभामुख तुम्बाहाङ्फेको राजीनामा शुक्रबारसम्मका लागि सरेको स्रोतले जानकारी दिएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट काठमाडौं आउन समय लाग्ने भएकाले यो विषयमा निर्णय हुन सकेको छैन् ।

सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपाले उपसभामुखबाट तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो ।

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि सभामुख र उपसभामुख दुवै पद रिक्त हुने छन् । दुवै पद खाली हुँदा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरेर निर्वाचन प्रक्रिया शुरु गर्ने छन् ।

उपसभामुखले सभामुखको निर्वाचन प्रक्रियामा सहयोग गर्ने बताउँदै आएको उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिएका छन् । ‘उहाँले निर्वाचन प्रक्रियालाई सहयोग गर्ने बताउनु भएको छ’, उनले सुनाए । उपसभामुख तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चाहना पनि तुम्बाहाङ्फेलाई सभामुख बनाउने रहेको स्रोतले जानकारी दिएको छ ।

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि नेकपा पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुखबारे निर्णय गर्ने नेताले बताएका छन् ।

सभामुखमा पूर्व सभामुख सुवास नेम्वाङकै सम्भावना रहेको नेताहरुको भनाइ छ । पुनस्र्थापित प्रतिनिधिसभा, अन्तरिम व्यवस्थापिका, दुवै संविधानसभा र संविधान बनेपछिको रुपान्तरित संसद् नेम्वाङ सभामुख थिए । पार्टी र सरकारको स्पिरिट समात्न सक्ने, कानुन र संविधानका जानकार तथा अनुभवका कारण उनी नै सभामुख बन्ने सम्भावना रहेको नेकपाका नेता बताउँछन् ।

पूर्व माओवादीका नेता भने पूर्व माओवादीकै कोटाबाट सभामुख बनाउन पार्टी अध्यक्ष दाहालमाथि दबाब दिइरहेका छन् । पूर्व माओवादीको कोटाबाट सभामुख बनेका कृष्णबहादुर महरा जेल गएपछि यस पटक पनि पूर्व माओवादीकै कोटाबाट सभामुख बन्नुपर्ने उनीहरूको भनाइ छ । सभामुखमा पूर्वमाओवादीबाट अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले चाहना व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.