राष्ट्रिय सभा सदस्यको चुनावमा सहभागी ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

रिपोर्ट नेपाल | 2019 Dec 25 | 11:30 am 1802

काठमाडौं, पुस ९: निर्वाचन आयोगले आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ।

आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सूर्य, नेपाली कांग्रेसले रुख, समाजवादी पार्टीले पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टीले नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चुनाव चिह्न प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले हलो, राष्ट्रिय जनमोर्चाले गिलास, नेपाल मजदुर किसान पार्टीले मादल, नेपाल सङ्घीय समाजवादी पार्टीले बस, नेपाली जनता दलले गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्र्याक्टर चुनाव चिह्न प्राप्त गरेको आयोगले जनाएको छ।

यसैबीच आयोगले चुनावको सन्दर्भमा सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ।

आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिएका छन्।

त्यस्तै जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको छ। न्याय परिषद्को परामर्शमा आयोगले उनीहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.