काठमाडौं, पुस ७: विश्व हिन्दु महासंघका अध्यक्ष डा रामचन्द्र अधिकारीले डलरवादीहरुले सनातन धर्ममाथि आक्रमण गरिरहेको हुँदा हाम्रो धर्म संस्कृति र संस्कार बचाउनका लागि सबै हिन्दुहरु जाग्नुपर्ने बताएका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले सनातन देखि चल्दै आएको विश्वको एकमात्र हिन्दु राष्ट्र हटाएर नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेर हिन्दुहरुको मात्र नभएर देशको भलो चाहने नेपालीको स्वाभिमानमाथि प्रहार गरेको बताए ।
पत्रकार सम्मेलनमा विश्व हिन्दुमहासंघ नेपाल राष्ट्रिय समितिका महासचिव गणेशप्रसाद नेउपानेद्वारा हस्ताक्षरीत विज्ञप्तिका अनुसार सनातन धर्म संस्कृति प्रतिको निष्ठा र समर्पण कमजोर भएको मौका छोपेर धर्म संस्कृतिमाथि विधर्मीहरुले हेप्न र चेप्न थालेको जनाइएको छ ।
अहिले विद्यालयहरुमा क्रिमसडेको बहाना बनाई टोपी, क्रिसमस टि–सर्ट, शान्त कलाउसका मुकुट बनाई अनिवार्य लगाउन पर्ने गरी कलिलो दिमागमा सनातन धर्म संस्कृति विरुद्ध गहिरो प्रभाव पर्ने र पाश्चात्य संस्कृति लाद्ने दुष्प्रयास भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
जसरी पछिल्लो समयमा कृश्चियनका नाममा विद्यालय, सामाजिक क्षेत्रमा आतंक फैलाइएको छ त्यसको विश्व हिन्दु महासंघले आपत्ति जनाएको छ ।
