एउटा असफल प्रतिक्रान्ति

| 2019 Dec 21 | 08:46 am 2138

त्रिपुरेश्वरस्थित सरकारी गेष्ट हाउसलाई गृह मन्त्रालयमा परिणत गरिएको थियो । भवनको भुइँतलामा मन्त्रालय थियो भने माथि बीपीको निवास । गोर्खादलको नाममा जनतालाई आतंकित बनाउन सक्रिय भरत शमशेरलाई सरकारले थुनेको थियो ।

नाति जर्नेललाई थुनेपटि प्रधानमन्त्री मोहन शमशेरले गृहमन्त्री बीपीलाई टेलिफोन गरेर भने, छिट्टै आउनुपर्यो । सिंहदबार पुगेका गृहमन्त्रीलाई प्रधानमन्त्रीले सोधे, किन भरत शमशेरलाई गिरफ्तार गरेको ? बीपीले भने, मलाई उनले सहरमा आतंक मच्चाएको र जनतलाई आतंकित बनाएको रिपोर्ट आएपछि गिरफ्तार गरिएको हो । प्रधानमन्त्री भन्न थाले, कसैलाई थुनेपछि मन्त्रीपरिषदमा प्रस्ताव राख्नुपर्ने नियम हामीले नै बनाएको होइन ? बीपीले भनिदिए, तीन दिनसम्म थुन्ने अधिकार गृहमन्त्रीलाई छ । म मन्त्रीपरिषदमा त्यस अवधिकै प्रस्ताव ल्याउँछु । उनीहरु गैरकानूनी काम गरिरहेका छन् । त्यो संस्थाको सचिव हो, भरत शमशेर । मोहन शमशेरलाई बीपीको कदम मन परेको थिएन । उनी कड्कीँदै भन्न थाले, त्यसको अध्यक्ष को हो तपाईं जान्न चाहानुहुन्छ ? म हुँ त्यसको अध्यक्ष । प्रधानमन्त्री चर्को स्वरमा कराउँदै थिए । बीपीले पनि भनिदिए, तपाईं एउटा अवैध संगठनको अध्यक्ष हो भने, गृहमन्त्रीले आदेश दिन सक्छ । बाझाबाझ भयो त्यहाँ केहीबेर । रिसाएर बीपी सिंहदरबारबाट त्रिपुरेश्वर फर्किएका थिए ।

उता, राणाहरुले आफ्ना समर्थक र आठपहरिया लगाई बलपूर्वक भरत शमशेरलाई थुनाबाट बाहिर ल्याए । जेल तोडेर भरत शमशेरलाई छुटाएपछि एउटा समूह टुँडिखेल तर्फ लाग्यो । अर्कोचाहीँ गृहमन्त्री र नेपाली कांग्रेसविरुद्ध चर्को नारावाजी गर्दै त्रिपुरेश्वरतिर ।
दिउँसो तीन बजेतिरको कुरा हो । बीपी कुनै महत्वपूर्ण विषयमा गणेशमानसँग छलफल गरिरहेका थिए । सप्तरीका नामी जमिनदार रामेश्वरप्रसाद सिंह, भारतीय सांसद बालकृष्ण गुप्ता पनि त्यहीँ थिए । अर्को कोठामा आमा दिव्या, श्रीमती सुशीला, छोरा प्रकाशसहित परिवारका सदस्य थिए । अचानक कोलाहल सुरु भयो । मार्यो बाबा मार्यो, गुहार गुहारको आवाज आइरहेको थियो । गणेशमान त्यो दिनको अवस्था चित्रित गर्दै लेख्छन्, ठोक सालेलाई ।
बजाबजा । हान, छ्याप पार् ।
मार्यो बाबा, गुहार गुहार ।
ख्वै त्यो कोइरालो ?

नाङ्गो खुकुरी नचाउँदै गृह मन्त्रालयभित्र छिरेको हुलले क्षणभरमै कर्मचारीलाई नराम्ररी कुटे । ड्याङडुङ आइरहेको थियो । साराका सारा कर्मचारी घाइते भइसकेका थिए । एक जना वयोबृद्धको खुट्टै भाँचिदिए । कति त बहोस भए । मन्त्रालयका कागजपत्र जलाइदिए । धुँवा आइरहेको थियो । मोटरमा आगजनी गरियो । बीपीले भनेका छन्, छोरा प्रकाशको एउटा सानो खेलौना कार थियो, त्यसलाई पनि पोलिदिए भनेर ऊ माथिबाट कराउँदै थियो । आम नागरिकको सुरक्षा गर्ने जिम्मेवारी पाएको गृह मन्त्रालय आफ्नै सुरक्षा गर्न नसक्ने अवस्थामा थियो । भवनको झ्याल ढोका सबै तोडिए । चारैतिरबाट ढुङ्गामुढा भयो ।
सुरक्षाकर्मी निरीह थिए ।

तिनताका नाङ्गो खुकुरी नचाउने व्यक्तिमा काली चढेको हुन्छ, उनीहरुसामु पर्नुहुन्न भन्ने विश्वार गरिन्थ्यो । पहिलो र दास्रो विश्वयुद्धमा गोर्खा सैनिकले संसारभर नाङ्गो खुकुरीको चमत्कार देखाएका थिए । त्यसैले बन्दुकदेखि नडराउनेहरुसमेत नाङ्गो खुकुरी देखेपछि थर्कमान हुन्थे । त्यहाँको वातावरणले गृहमन्त्री बीपीका अंगरक्षकको सातोपुत्लो उड्यो । गणेशमानले भनेका छन्, उसको अवस्था यति खराब थियो कि विचरा लगलग काँपिरहेको थियो, मानौं उसलाई कामज्वरो आएको होस् । उसको शरीर मात्र काँपिरहेको थिएन, स्टेनगन थामिरहेका हात पनि थरथरी कामिरहेका थिए । कर्मचारीलाई मरणासन्न बनाएर भीड माथ्लो तला उक्लिँदै थियो, बीपीको निजी निवासतर्फ । त्यो तलामा पनि सुरु भइहाल्यो, फेरि तोडफोड र आगजनी । अब बीपीको बेडरुम र आमा दिव्याको कोठा मात्र उनीहरु पस्न बाँकी थियो । भीडबाट आवाज आयो, हाम्रो सानुराजालाई थुन्ने यही कोइराला हो । यसलाई मुला काटे जस्तै काट्नुपर्छ । बीपी र गणेशमानलाई एकै ठाउँमा देखेर ऊ खुकुरी उजाउँदै भन्न थाल्यो ल, दुबै सिकार एकै ठाउँमा । काट् ।

खुकुरीधारीलाई हकार्दै बीपीले भने, यो के बदतमिजी हो, तिमीहरुको ? जाऊ विरोध गर्नु छ भने तिमीहरु मिटिङमा गएर बिरोध गर । घरमा आएर यस्तो गर्ने हो । घटनाबारे पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भनेका छन्, उनीहरु भित्रै पस्न खोजेपछि मैले धकेलेर बाहिर निकाले । दुई मिनेटमै फेरि आइहाले । मैले ढेकाको छिस्कनी लगाएँ ।

ढोका काठैकाठको भएपनि भित्र बाहिर सबै देखिने खालको थियो । बीपीको हप्काईपछि खुकुरी दलका कार्यकर्ता तल्लो तलामा झरे । क्षणभरमै नाङ्गो खुकुरीका साथ फेरि सिँढी उक्लिएर माथि नै पुगे ।

त्यसमध्ये एक मोटो मानिस आठपहरिया नै थियो । एक जना सिँढीबाट हुरिँद, बीपीलाई खुकुरी ताकेर नजिकै पुगिसकेको थियो । अन्तिम क्षणसम्म पनि बीपी खुकुरीधारीलाई हकार्दै थिए । त्यति बेलासम्म गणेशमानको सातोपुत्लो उडिसकेको थियो । उनी आमा दिव्यालाई जोगाउन बाथरुमभित्र थुन्न खोजिरहेका थिए । स्थिति यति भयावह भयो कि, सबैलाई मृत्युले नजिकैबाट नियालीसकेको महसुस भयो । बीपी भन्दै थिए, गणेशमानजी आमालाई बाथरुममा थुनेर कहाँ हुन्छ र ? यहाँसम्म आएर आक्रमण गर्नेहरु बाथरुममा पुग्न सक्दैनन् र ? मर्ने भए हामीले सामना गरेरै मर्नुपर्छ ।

खुकुरी दलका मानिस २०–२२ गज नजिकै पुगिसकेका थिए । नेपाली कांग्रेसको मुक्तिसेनालाई रक्ष दलमा रुपान्तरण गरेर क्रान्तिमा प्रयोग भएका हतियार सरकारलाई बुझाइसकिएको भए पनि केही हतियार भने बोरामा हाली बीपी निवासमै राखिएका थिए । कृष्णप्रसाद भट्टराई र तीर्थ अधिकारी स्टेनगन समाएर पोजिसनमा बसे । त्यति बेलासम्म तर्साउनका लागि मात्र उनीहरुले स्टेनगन देखाएका थिए । तर आक्रमणकारी झन् अजिकै आएपछि भट्टराई भन्न थाले, तीर्थ फायर खोल । प्रदर्शनकारी सतर्क भए । तीर्थले भट्टराईको कानमा मुख जोडेर विस्तारै भने, पड्किएन । परेन फसाद् । भट्टराई आफैंले स्टेनगनको घोडा खिचेर चलाउन खोजे । त्यो पनि चलेन । भीडले थाहा पायो भने ? बर्बाद ! दुबैले अध्यारो मुख लगाए । अनि ठोक् ठोक् भन्दै पछि हटे ।

पछि गोर्खादलका हुल्याहाहरुले बीपीका भान्जा तीर्थ अधिकारीको हातबाट स्टेनगन कब्जामा लिए र उनलाई कुटेर रगताम्मे बनाए । बीपीले भनेका छन्, उसलाई ढेङ्गाले हानेर बेहोस पारिदिए ।

त्यो बेलासम्म गृहमन्त्रीको सुरक्षाका लागि गेटमा तैनाथ गार्डले बन्दुक दिएर आत्मसमर्पण गरिसकेका थियो । पटकपटकको चेतावनीले समेत काम गरेन । प्रदर्शनकारीले बीपीका पाहुना बालकृष्ण गुप्तालाई ताकेर खुकुरी प्रहार गरिहाले । संयोगले खुकुरीको टुप्पो दलिनमा बज्रियो र उनको गर्धन जोगियो । बस्, एकै पटक कानको जाली फाट्लाझै गरी गोली चलेको आवाज सुनियो । ढ्वाङ, ढ्वाङ, ढ्वाङ । केही उपाय नभएपछि बीपीले आफैंले फायर खोले । बीपी स्वयम्ले भनेका छन्, मैले पेस्तोल हातमा लिएको थिएँ, ढ्याङ, ढ्याङ चार पाँच फायर गरें । फायर गर्दा मोटो आठपहरियाको त मुटुमै लागेछ ।

उसको आधा शरीर मेरो बेडरुममा छ, आधा बाहिर छ । खुकुरी कार्पेटमा उछिट्टिएर गएको छ । खुकुरीमा ब लेखेको छ । बिँड हात्तिको दाँतको छ । ढल्ने बबर शमशेरको आठपहरिया थियो । अर्को एकजनाको कानमा गोली लाग्यो । अनि मात्र अरु खुकुरीधारीहरु कुलेलाम ठोके । भाग्दाभाग्दै बेहोसीमा उनीहरु एकोहोरो कराइरहेका थिए, गोली चल्यो मान्छे मर्यो । गोली चल्यो । मान्छे मर्यो । घटनाक्रम सिनेमाको रिलभन्दा द्रुत गतिमा अघि बढ्दै थियो । मृत्युको कल्पना गरेर बाँचेपछि गणेशमानले भनेका छन्, एक भयानक दुःस्वप्नबाट झल्याँस्स ब्यूँझिएपछिको हडकम्प चलिरहेको क्षण होस् । म उनीहरुको अचानक आक्रमणबाट जति भयभीत बनेका थिए, त्यो भन्दा बढी कोइरालाजीको प्रत्युत्पन्नमति तथा अदम्य साहस देखेर आश्चार्य चकित बन्न पुगेका थिएँ ।

त्यो दिनको घटनापछि गणेशमान बीपीलाई भन्ने गर्थे, त्यो तपाईको शान्त मनस्थिति, त्यो साहस । म भन्ठान्थें, मजति साहसी को होला ? तर तपाईलाई देख्ता म छक्क परें । आँखै अगाडि भएको त्यो भयानक घटनाबाट सचेत र अचेतको दोसाँधमा पुगेका गणेशमानले भनेका छन्, त्यो घटनापछि मैले राजनीति, बुद्धि र साहस तीनै क्षेत्रमा नेतृत्व दिनसक्ने योग्य र सक्षम नेता बीपीलाई माने नेताको परीक्षण नै संकटको क्षणमा उसले लिने निर्णय र त्यसको परिमाणबाट हुन्छ । अनेक पटकको परीक्ष र परीक्षणपछि मैले उहाँको नेतृत्व स्वीकार गरेको हुँ । मलाई आफ्नो त्यो निर्णयमा गर्व छ र आजसम्म कहिल्यै पछुताउनुपरेन ।

भरत शमशेरलाई थुनाबाट मुक्त गरेपछि एउटा समुहले गृहमन्त्रीको निवासमा वितन्डा मच्चायो । अर्को समुहचाहीँ उनलाई लिएर टँुडिखेल चक्कर लगाई रहेको थियो । त्यो दिनको घटनाबारे भरत शमशेरले भनेका छन्, मेरै पुरोहितले दोडिँदै आएर भने–बीपीलाई हाम्रा मानिसले पक्रेर ल्याएका छन् । उकुसमुकुस भएर त्यो भीड छिचोल्दै म त्यतातिर लागें । रगताम्मे पारेर एक जनालाई ल्याउँदै रहेछन्, बीपी सम्झेर । मैले त ती मानिसलाई चिनें, उनी बीपी हैनन् भन्ने थाहा भयो । तर धेरैले बीपीलाई चिनेकै थिएनन् त्यतिखेर ।

भरत टुँडिखेलमा भाषण गरिरहँदा गोर्खादलका कार्यकर्ताहरु बीपी चढ्ने मोटर त्रिपुरेश्वरतर्फ जाँदै गरेको देखेर उत्तेजित भए । मोटर रोके । बीपी ठानेर एक जनालाई कुट्दै सानुराजा (भरत शमशेर) को हवाला गरिदिए । कुटाई खाने मानिस बीपी नभई उनका पीए दीर्घराज कोइराला थिए । बीपीको आदेशबमोजिम मुक्तिसेनाको क्याम्प पुगी गृहमन्त्री निवासमा भएको आक्रमणबारे जानकारी दिएर फर्किँदै थिए । यस सम्बन्धमा दीर्घराजले भनेका छन्, सदर जेलको अगाडि भीडलेृ गाडी रोके । मलाई मोटरबाट निकालेर पिट्न थाले । भीडले तानेर भरत शमशेरले भाषण गरेको ठाउँमा पुर्यायो । मलाई देख्नेबित्तिकै भरत शमशेरले बग्गीबाट आई मलाई भीडबाट छुटाए र आफैंसँग राखे ।

भरतले दीर्घराजलाई खरीबोट नजिक कबाज खेलाइरहेका सेनापति केशर शमशेरको जिम्मा लगाइदिए । त्यसको केही समयपछि रक्षादलले भरतलाई पक्राउ गरी लैनचौरस्थित आफ्नो क्याम्पमा थुन्यो । त्यति बेलासम्म सुवर्ण, महेन्द्रविक्रम शाह, सूर्यप्रसाद उपाध्यायलगायत नेताहरु मुक्तिसेनाको क्याम्पमा पुगिसकेका थिए । भरतले भनेका छन्, सबैको मुखमा भय र त्रासको छाप परेको थियो । म पनि खबै टेन्सनमा थिएँ । साहस बटुलेर भरतले कांग्रेस नेता सुवर्णलाई फटाफट प्रश्न गरे ।

जय गोर्खा ।
म राजनीति बन्दी हुँ । म माथि हातपात किन ?
मलाई किन थुनिएको ?

कसैले एक शब्द बोलेनन् । बरु उनलाई स्टोभित्र कोचेर बाहिर ताला लगाइदिए ।
क श्रेणीका कुनै कर्कटपाताले छाएको टहरामा थुनिएको त्यो नै पहिलो घटना थियो । टहरामा बत्तीको व्यवस्था थिएन । स्टोर रुममा थुनिएका भरत देख्छन्, लालटिन बालेर मानिसहरु यताउता गरिरहेका छन् । जाडो छल्न रक्षा दलका मानिसहरुले ठाउँठाउँमा आगो बालेका छन् । अलि अँध्यारो भएपछि बाहिर नारावाजीको चर्को आवाज उनको कानमा गुन्जियो । तत्क्षण एउटा गार्ड चिच्यायो, ए भरते देखिस् । तलाईँ झुन्ड्याउनुपर्छ भनेर भीडले नारा लगाइराहेको छ ।

आफ्ना नेता बीपीमाथि आक्रमण गरेका कारण मुक्तिसेनाका जवानहरु उनीप्रति आक्रोशित हुनु स्वभाविकै थियो । राणाविरुद्ध लडेका रक्षा दलका सिपाहीहरु विजयी सेनाका रुपमा स्थापित थिए । भरत आफैंले भनेको छन्, अलि पछि राई थरको एक कप्तान टन्न रक्सी खाएर ढोका खोल् भन्दै आइपुग्यो । अनि भण्डार घरबाट एउटा दाउरा उठाएर मेरो पिठ्युँमा जोडले हिर्कायो । म घोप्टिए चामलको बोराको बीचमा गइहालेँ । अँध्यारोमा त्यही बोरामा दाउराले हिर्काएको हिर्कायै गर्यो ।

सधैं चौरासी व्यञ्जन ज्युनार गर्ने बानी परेका नाति जर्नेललाई एउटा टपरीमा मोटो चामलको चिसो भात, डाँठसहितको काउलीको तरकारी हालेर ल्याइदिए । कसरी खान सक्थे उनी । रक्षा दलका एक जवान भन्दै थिए, ल खा । भरतले भने, खान्नँ । ऊ पनि के कम भन्न थाल्यो, चौरासी व्यञ्जन ल्याइदिए खान्छस् त ? स्टोरमा राखिएको आलु देखाउँदै भरतले भने, यो पोलेर ल्याइदिए खान्छु । आधा घण्टापछि पोलेका आलु ल्याइदिए ।

नुन र आलु खाएर बोरामै निदाए । मध्यरातमा फेरि तीनचार जवान आएर भन्न थाले, उठ भरते उठ । अबचाहिँ मार्ने नै भए भन्ने ठानेर डराए उनी । मुक्तिसेनाले भरतको खुट्टामा नेल ठोकेर सिक्रि लगाइदियो । ठीक यस्तै सजाय राणाकालमा कैदीलाई दिने गरिन्थ्यो । थुनामा परेको सात दिनपछि भरतलाई गृहमन्त्री बीपीसँग भेट गराइयो । सात महिना सुरक्षा कानून अन्तर्गत थुनामा बसेपछि उनी मुक्त भए । भरतले भनेका छन्, बीपीको उदारता हेर्नुस् । गृहमन्त्रीबाट राजिनामा दिनुअघि रेडियो नेपालबाट देशबासीको नाममा सम्बोधन गर्दै सबै राजबन्दीहरुको रिहाई गरिदिए । बीपीमाथि सांघातिक आक्रमण गर्ने भरत शमशेर त्यही घोषणाका आधारमा छुटे ।

बीपीमाथि गोर्खा दलले गरेको आक्रमणले राणा–कांग्रेस द्वन्द्व चुलीमा पुगेको थियो । गृहमन्त्रीको ज्यान लिने उद्देश्यका साथ भएको खुकुरी दल घटना लगत्तै त्रिभुवनले नारयणहिटी राजदरबारमै मन्त्रीपरिषद्को विशेष बैठक बोलाए । प्रधानमन्त्रीलाई टोलिफोनबाट निमन्त्रण गरियो । तर राति भइसकेकाले भोली बिहान बैठक गर्न उचित हुन्छ कि भन्ने सल्लाह मोहन शमशेरले राजालाई दिए । प्रधानमन्त्रीको संरक्षणमा गोर्खाकाण्ड रचिएको प्रमाण बीपीले पेस गरेका थिए । त्यही घटनाबारे छलफल गर्न राजाको अध्यक्षतामा मन्त्रीमण्डलको संकटकालिन बैठक डाकिएको थियो ।

बीपीले भनेका छन्, बिहानै प्रधानमन्त्री मोहन शमशेर नारायणहिटी दरबारमा हाजिर भए । सबै मन्त्री नास्ता गरे । तर पूजा सकेर मात्र खाने भन्दै मोहन चाहिँ पानी समेत खाएनन् । गृहमन्त्रीमाथि भएको सांघातिक आक्रमणको जिम्मेवारी लिँदै राजिनामा गर्न प्रधानमन्त्रीमाथि दबाब बढेको थियो । बीपी प्रधानमन्त्रीलाई राजिनामा गराउन चाहान्थे । बिहान सुरु भएको छलफल दुई बजेसम्म लम्बियो । मन्त्रीहरु खाना खान आ–आफ्ना घरतिर लागे । प्रधानमन्त्रीलाई दरबारबाहिर जान दिइएको थिएन । दरबारमै खानाको व्यवस्था गरिएको थियो । गणेशमानसहित कांग्रेसका मन्त्रीहरु प्रधानमन्त्रीले राजिनामा गर्नुपर्ने बीपीको मागलाई समर्थन गर्ने नै भए । राणा पक्षधर मन्त्रीले समेत संयुक्त सरकारको औचित्य सकिएको धारणा राखे । अंग्रेजी भाषामा तयार पारिएको प्रधानमन्त्रीको राजीनामा पत्रको मस्यौदा मन्त्रीहरुको टेबलमा पुगिसकेको थियो ।

त्यो बेला भारतीय राजदूत सीपीएन सिन्हा इलाहवादमा थिए । त्यहीँबाट दरबारमा फोन गरेर उनले भने, दिल्ली सम्झौताबमोजिम कुनै महत्वपूर्ण निर्णय लिनुअघि हामीलाई थाहा दिनुपर्छ । क्षणभरमै भारतीय दूतावासका प्रथम सचिव राजदरबारमै आइपुगे र भन्न थाले, महाराजधिराजलाई म अहिल्यै भेट्छु । राजदूत स्पेसल प्लेनबाट एकदुई घण्टामा आइहाल्नुहुन्छ । त्यतिन्जेल पर्खिदिनुस्, निर्णय नगर्नुस् भन्न आएको । प्रथम सचिवसँग भेटेपछि राजा त्रिभुवनको अनुहार र हाउभाउ बदलिएको थियो ।

उनले भारतको चासोबारे बैठकलाई जानकारी गराए । प्रधानमन्त्रीले राजासँग बिन्ती गरे, सरकार आखिर दुईतीन घण्टा कुर्नु नै पर्ने भयो । पूजा सकिएको छैन । निगाह भए घरमा गएर पूजा सकि हाजिर हुने थिएँ । बृद्ध प्रधानमन्त्री, त्यो पनि भोकै । जान अनुमति दिँदै राजाले भने, ठिक छ । छिट्टै फर्किनु । जेठो छोरा शारदा शमशेरलाई नारायणहिटीमै छाडेर प्रधानमन्त्री सिंहदरबारतिर लागे । मोहन बाहिरिँदै गर्दा बीपी खाना खाए फर्किसकेका थिए । सिंहदरबार गए प्रधानमन्त्री फर्किँदैनन् भनेर गणेशमान भन्न थाले, बाटैबाट फर्काउनुपर्छ मोहन शमशेरलाई । त्यसपछि बीपीले राजालाई आग्रह गरे, सरकार मोहन शमशेरलाई छोडिबक्सिन नहुने, तुरुन्त बोलाउनुपर्याे।

राजाले तत्काल जनरल नर शमशेरलाई बोलाई प्रधानमन्त्रीलाई बाटैबाट लिएर आउन आदेश दिए । राजको आदेश लगत्तै टुँडिखेलको बीचबीचै मोटरसाइकल हुइँक्याएर नर शमशेर सिंहदरबारतर्फ हानिए । प्रधानमन्त्री सिंहदरबार पुग्न भ्याएकै थिएनन् । उनले सिंहदरबारको मुलढोकामा मोटरसाइकल तेस्र्याएर प्रधानमन्त्रीको बाटो रोक्दै भने, सरकारबाट हजुरलाई लिएर आउन हुकुम बक्सेको छ ।

नारयाणहिटीतिर सवारी होइबक्सनुपर्यो, मलाई यस्तै आदेश छ । ड्राइभरलाई फनक्क गाडी घुमाउन लगाएर प्रधानमन्त्री सीधै नारायणहिटीतिरै फर्किए । त्यो बेलासम्म भारतीय राजदूत सिन्हा पनि काठमाडौं आइपुगिसकेका थिए । उनले राजा, प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटे । सिन्हाले बीपीसँग भने, प्रधानमन्त्रीलाई अपमानित गर्नु राम्रो हुँदैन । एकदुई हप्तामा उनले राजीनामा गनेछन् । निवास सफा गर्नपनि एकदुई हप्ता लाग्छ । त्यसपछि उनी लक्ष्मी निवास जान्छने । राजीनामापत्र तयार भएर प्रधानमन्त्रीको हस्ताक्षर हुन मात्र बाँकी थियो । भारतको हस्तक्षेपका कारण मोहन शमशेरले सत्ता छाड्नुपरेन !

यो घटना हुँदासम्म नेपाली कांग्रेसलाई राजालाई मित्र र राणाहरुलाई शत्रु शक्ति ठान्थ्यो । त्यहीताका कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायले राजालाई सैनिकशक्ति आफ्नो हातमा लिन आग्रह गरे । त्यो आग्रह उपाध्यायको व्यक्तिगत निर्णय थिएन, पार्टीमा छलफल भई तय भएको थियो ।

गृहमन्त्रीमाथि आक्रमण भएपछि प्रधानमन्त्रीको सुरक्षार्थ बनेको विशेष दस्त बिजुली गारत नारायणहिटीमा सारियो बीपीले भनेका छन्, त्यस दिनदेखि राजाको हात माथि पर्यो, प्रजातन्त्रको हात तल ।

हातमा नाङ्गो खुकुरी नचाएर आतंक मच्चाउने गोर्खादलको क्रियाकलाप हिटलरको नाजी पार्टी (जर्मनी) सत्तामा आउनुअघिको वातावरणभन्दा भिन्न थिएन । हिटलर समर्थकहरुले दिउँसो, साँझ, राति गरी दिनमा तीन पटक बन्दुकको बदला हातमा लाठी नचाउँदै जुलुस निकाली बिरोध मात्र होइन, सर्वसाधारण जनतालाई पनि थर्कमान पारेर राखेका थिए । गोर्खादलको आतंक त्यो भन्दा कुनै अर्थमा कम थिएन, बरु बढी थियो । नाङ्गो खुकुरी जुलुसको आतंक यतिसम्म फैलिएको थियो कि आयो आयो भन्नेबित्तिकै मानिसहरुको भागाभाग हुन्थ्यो । एकै पटक सारा झ्यालढोका थुनेर बस्थे सर्वसाधारण । सारा सहर सम्साँझै सुनसान हुन्थ्यो । जनतको त कुरै छोडौं, मन्त्रीहरुसमेत आफ्नो निवासलाई असुरक्षित महसुस गर्दै साथीभाई र नातेदारकहाँ सुत्न जान्थे ।

यस प्रसंगमा गणेशमानले भनेका छन्, म आफैंले कति रात अर्काको घरमा गुजार्नुपरेको थियो । परिवार र साथीहरुको दबाबका कारण । सरकार निरिहमात्र होइन, मूकदर्शक बनेकाले आमजनतामा प्रजातन्त्र र स्वतन्त्रताको अनुभूति हुन छाडिसकेको थियो । समग्र देशको साक्षरता प्रतिशत एकभन्दा मुनि थियो । जनताको कमजोर चेतनास्तरको फाइदा उठाएर भर्खरै स्थापना भएको प्रजातन्त्रको गला रेट्न राणाहरु प्रतिक्रान्तिको वातावरण बनाउने प्रयासमा थिए । जगत नेपलाद्वारा लिखित बीपीको विद्रोह

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.