उपसभामुखको राजीनामा गराउँदै नेकपा

| 2019 Dec 20 | 06:32 pm 1878

काठमाडौं, पुस ४ : प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराएर दुवै पदमा निर्वाचन गराउने प्रस्ताव गरिएको छ ।

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौ अधिवेशन शुरु हनुअघि आज नयाँ बानेश्वरस्थित संसद् भवनमा सम्पन्न नेकपाको संसदीय दलको बैठकमा दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले उपसभामुख तुम्बाहाङफे राजीनामा दिनुपर्ने र संविधानअनुसार सभामुख र उपसभामुखमध्ये फरक–फरक लिङ्ग र दलबाट प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गरेका थिए ।

आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र र शोक प्रस्तावबोहक अन्य कार्यसूचीमा प्रवेश नगर्नुले यही पुस ११ गतेका लागि तोकिएको दास्रो बैठकमा सभामुख निर्वाचनको मिति तोकिने देखिएको छ ।

सभामुख निर्वाचनको मिति तोकिएर उम्मेदवारको मनोनयन हुनुपूर्व उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन पार्टीले निर्देशन दिने स्थिति हुन सक्ने नेकपाका सांसद् शेरबहादुर तामाङले बताए ।

सभामुखको निर्वाचन हुने बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने र सभामुख चयनपछि उपसभामुखको निर्वाचनको कार्यसूची आउनेछ । सांसद् तामाङले भने उपसभामुख तुम्बाहाङफे पदमा निर्वाचित भएपछि पार्टीको सदस्य नरहेकाले सभामुख र उपसभामुखमा फरक–फरक दलको कुरा उनको हकमा लागू नहुने तर्क गरे ।

संसद् बैठकबाट बाहिएका उपनेता नेम्वाङलाई सभामुख पदमा पुनः तपाईँको सम्भावना हो भन्ने प्रश्नमा उनले हाँस्दै ठट्यौली शैलीमा भने, ‘पत्रकारले सबै बनाइसके, त्यसमा मैले हस्ताक्षर गर्ने त होला नि !’ उपसभामुख तुम्बाहाङफेले आफ्नो अनुभव र क्षमताका आधारमा रिक्त सभामुखमा दावी रहने जनाउँदै आएका छन् ।

सभामुख रिक्त भएको हुनाले उपसभामुख तुम्बाहाङफेले आजको अधिवेशन प्रारम्भ भएको घोषणा गरेकी थिइन् । यौन दुव्र्यवहार आरोपमा सभामुखबाट राजिनामा दिएका कृष्णबहादुर महरा अहिले अदालतको आदेशमा अनुसन्धान र पूर्पक्षका लागि थुनामा छन् ।  सभामुख पद रिक्त हुँदा नेपालको संसदीय इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गर्नुभएको सम्भवतः यो पहिलो घटना हो ।

नेकपाका महासचिव विष्णु पौडेलका अनुसार दलको बैठकमा उपनिर्वाचनको समीक्षा, राष्ट्रिय समसामयिक राजनीति, संसद्मा पार्टीको भूमिका आदि विषयमा छलफल भएको जानकारी दिए । उनले सभामुख चयनको प्रक्रिया शुरु भएपछि उम्मेदवार चयनबारे निर्णय लिइने बताए । यही पुस २ गते सत्तारुढ नेकपा र राष्ट्रिय जनता पार्टीबीच आगामी माघ ९ मा हुने राष्ट्रिसभाको निर्वाचनमा चुनावी तालमेल गरेकाले उपसभामुख पद राजपाका उम्मेदवारले पाउन सक्ने आँकलन गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.