अवैध हातहतियारसहित रौतहटबाट तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 18 | 11:42 am 1963

रौतहट, पुस २: अवैध हातहतियारसहित रौतहटबाट तीन जना पक्राउ परेका छन् । जिल्लाको राजपुर नगरपालिका ३ दमारआजात चोकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ का ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहाका ३८ वर्षीय दामोदर साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीयाका ६६ वर्षीय छोटेलाल साह रहेको प्रहरीले जानकारी दिए ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरी निरीक्षक दिलबहादुर बस्नेत नेतृत्वको मोबाइल गस्ती टोलीले गएराति पौने आठ बजे हतियारसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई राउण्ड बरामद भएको छ ।

त्यस्तै धारिलो चक्कु, तार काट्ने औजार, पिलास, पेचकस, मोबाइल लगायतका सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई सुरक्षा बेस क्याम्प फतुवामा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.