ईटा भट्टाका संचालकसँग फिरौती माग्ने चार जना प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2019 Dec 12 | 07:46 pm 2523

वीरगञ्ज, मंसिर २६: करिब तीन महिना अघि बारा कलैया उपमहानगरपालिका २५ का मनोज प्रसाद साह तेलीलाई फोन आयो । उनी बारा परवानीपपुर गाँउपालिका ४ स्थित एमएस ईंट्टा उद्योगका सञ्चालक हुन् । नयाँ नम्बर भएपनि व्यापारिक कारोबारकै लागि होला भनी उनले फोन उठाए ।

तर फोन उठाएपछि उताबाट धम्की आउन थाल्यो । फोनमा बोल्ने व्यक्तिले १५ लाख फिरौति नदिए ज्यान मार्ने धम्की दिइरहेका थिए । तर उनले फिरौति रकम दिन अस्वीकार गरे । पटक पटक फोन आइनै रह्यो । उनले फिरौति रकम दिन अस्वीकार गरिरहे ।

अचानक कात्तिक ४ गते उनको ईंट्टा उद्योगमा बम विष्फोट भयो । फिरौती रकम दिनु नत्र घरपरिवार समेतलाई खतरा हुनेछ । भन्ने एसएमएस र फोन धम्की आयो । धम्की सहित फिरौती मागेर हैरान पारेपछि तेलीले प्रहरीलाई खबर गरे ।

मंसिर २५ गते पूनः मनोजलाई फोन आयो । यहाँ आइपुग्दा फिरौती रकम झरेर ३ लाख भइसकेको थियो । ३ लाख लिएर परवानीपुर गाउँपालिका ४ चैनपुर भन्ने ठाउँमा आउन भनी फिरौती माग्नेले बोलायो । इलाका प्रहरी कार्यालय सिमरासँगको समन्वयमा प्रमोद फिरौती रकम बुझाउन जाने भए ।

फिरौती लिन आएका परवानीपुर गाउँपालिका ४ का ३१ बर्षीय प्रमोद साह गोढसहित ४ जनालाई प्रहरीले पक्राउ गर्न सफल भयो । प्रमोदले नै मनोजलाई फोन धम्की दिएको दाबी प्रहरीको छ । प्रहरीले प्रमोदको साथबाट ३ वटा मोबाइल बरामद गरेको छ ।

मुख्य योजनाकार प्रमोद भन्नेले फिरौती लिन सुरुमा साथीलाई पठाएकोले पछि मात्रै उसलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

उनीहरुले मार्दिन्छु भनेर फोन र एसएमएस मार्फत धम्की दिने, फिरौती नदिए सुतली बम पडकाएर तर्साउने गर्दा रहेछन् । प्रहरी उपरीक्षक खनालले भने प्रमोदको साथबाट ३ वटा मोबाइल बरामद भएको छ, फिरौती रकम माग गर्न फरक–फरक सिम प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा देखिएको छ ।

प्रमोदसँगै प्रहरीले परवानीपुर–४ का २० बर्षिय देव शंकर राम, जीतपुरसिमरा उपमहानगरपालिका–२० का २० बर्षीय अच्छेलाल गोसाई र फेटा गाँउपालिका ३ का ३९ बर्षीय दिपेन्द्र कुमार धानुकलाई पक्राउ गरेको छ । उनीहरु चारै जनालाई जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । प्रहरीले घटनामा अरुपनि संलग्न भएको आशंकामा अनुसन्धान जारी राखेको छ ।

यही समूहले बारा प्रसौनी गाउँपालिका ४ बस्ने नेरामाबि प्रसौनीका लेखापाल नन्दकिशोर प्रसाद कुम्हाललाई फोन धम्की दिएको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ । मोवाइलबाट धम्की दिई उनीहरुले कुम्हालसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए । फिरौती रकम नदिए पछि उनीहरुले ०७६ असोज १० गते कुम्हालको घरमा सुतली बम बिष्फोट गराएका थिए ।

यही समूहले बारा परवानीपुर–४ स्थित नारायणी आयल रिफाइनरीमा समेत धम्की दिएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । फिरौती रकम नदिए पछि २०७६ असोज ०२ गते उद्योगमा सुतली बम बिष्फोट गराएका थिए । उनीहरुले रिफाइनरी उद्योगबाट २५ हजार फिरौती रकम लिन सफल भएको बारा प्रहरीले जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.