काठमाडौं, मंसिर २४: गत मंसिर १५ गतेदेखि संचालिन १३औं दक्षिण एसियाली खेलकुद (साग)को आज समापनको दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल फुटबल खेल हेर्नका लागि गएका दर्शकमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।
आजको १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो ३ बजेबाट सुरु हुने फुटबल खेल हेर्नका लागि दर्शकको ठूलो भीड टिकट लिनका लागि रंगशाला पुगेका थिए ।
भीडले उग्ररुप लिएपछि प्रहरीले भीडलाई नियन्त्रण गर्न लाठी चार्ज गर्नुपरेको थियो । आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै पनि प्रहरीले पत्रकार सुमन चापागाईंलाई कुटपीट गरेको थियो । पत्रकार चापागाईलाई महानगरीय प्रहरी सोह्रखुट्टेका डिएसपी सन्तोषसिंह राठोरले कुटपीट गरेका थिए ।
प्रहरीले लाठी चार्ज गर्दाको छायांकन गरिरहेका पत्रकार चापागाईलाई कुटपीट गरेको हो । कुटपीटबाट पत्रकार चापागाई घाइते भएका छन् । उनको हाल ब्लूक्रस अस्पतालमा उपचार भइरहेको छ ।