जलपरी गौरिकाद्वारा अर्को किर्तिमान कायम

रिपोर्ट नेपाल | 2019 Dec 08 | 06:03 pm 2022

काठमाडौं, मंसिर २२: जारी १३ औं दक्षिण एसियाली खेलकुद सागमा गौरीका सिंहले तहल्का मच्चाउँदै कीर्तिमान कायम गर्न सफल भएकी छिन् ।

आइतबार ललितपुरको सातदोबाटोस्थित पौडीपोखरीमा भएको महिलातर्फको ४ सय मिटर फ्रिस्टाइल स्पर्धामा अर्को स्वर्ण जित्दै एउटै साग खेलकुदको एकै संस्करणमा ३ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

गौरिकाले ४ सय मिटर फ्रिस्टाइलको दूरी चार मिनेट २५ दशमलव २८ सेकेण्डमा पूरा गर्दै स्वर्ण हात पार्दा भारतकी चर्चित प्रतिद्धन्द्धी सिवांगी शर्माले रजत पदक जितिन । सिवांगीले चार मिनेट २६ दशमलव २२ सेकेण्डमा पूरा गरेकी थिइन ।

श्रीलंकाकी रामुदी नुलाराको नाममा काँस्य पदक रहयो । नुलाराले चार मिनेट ४१ दशमलव नौ सेकेण्डमा पूरा गरेकी थिइन ।

गौरिकाले यसअघि दुई सय मिटर फ्रिस्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न सफल भएकी थिइन ।

लामो समय बेलायत बसेर पौडी प्रशिक्षण लिदै आएकी गौरिकाले यस अघि भारतमा सम्पन्न १२ औं सागमा पनि बिभिन्न स्पर्धामा रजत पदक दिलाएकी थिइन ।

रियो ओलम्पिकमा सहभागी खेलाडी मध्ये विश्वकै कान्छी खेलाडीको रुपमा नाम लेखाएर विश्वभर नेपाल चिनाएकी गौरिका रियो ओलम्पिकमा सहभागी हुँदा १३ बर्षकी थिइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.