काठमाडौं, मंसिर १८: १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गगत पुरुष फुटबलतर्फ लिग चरणमा नेपाल र श्रीलंकाबिचको खेल बराबरीमा सकिएको छ ।
बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले खेलको पहिलो हाफमा कप्तान सुजल श्रेष्ठको गोलमा अग्रता लिएको थियो । तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा जुड सुपानले फ्रिकिकमा सिधै गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफको सुरुमा पहिलो हाफमा जस्तो सम्हालिएको खेल देखाउन सकेन ।
राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् । पुरुष फुटबलमा नेपाल र भुटानसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स रहेका छन् ।
पहिलो खेलमा भुटानलाई ४–० ले हराएको नेपालको बराबरीसँगै ४ अंक भएको छ । भुटानको २ खेलमा ३ अंक छ। माल्दिभ्स र श्रीलंकाको २–२ अंक छ भने बंगलादेशको १ अंक छ।